बुटवल, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंबैधानिक कदमका विरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले गरेको आमहड्तालको प्रभाव बिहानैदेखि रुपन्देहीको बुटवल लगायत देशभर परेको छ । बुटवल तथा भैरहवा बसपार्कबाट छुट्ने् लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् । सडकमा केही मोटरसाइकल केही निजी सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन् । मुख्य वजारका पसलहरु पनि खुलेका छैनन् ।
लुम्विनी प्रदेशको मुकाम बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु चलेका छैन् । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् । बुटवलको राजमार्ग चौराहामा बन्द आह्वान कर्ताहरुले सडकमा ट्याक्टर र मिलनचोकमा दुई वटा ट्रक सडकमा तेस्र्याएर बाटो अवरुद्ध पारेका छन् । बुटवलमा प्रहरी गस्ती पनि बढाइएको छ ।
प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंबैधानिक कदम तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगहरुमा संसदीय सुनुवाइबिना नै पदाधिकारीहरुको सिफारिस र पद तथा गोपनीयताको शपथग्रहण गराइएको विरोधमा आमहड्ताल आह्वान गरिएको प्रचण्ड–नेपाल समूहले जनाएको छ । सरकारको सिफारिसमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथ खुवाएको थियो । हड्तालका क्रममा अत्यावश्यक सेवा र परीक्षामा अवरोध नगर्ने नेकपा केन्द्रिय संघर्ष समितिले जनाएको छ । परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर सवारी साधन ल्याउन पाउने बताइएको छ ।
बिहानैदेखि बन्दको आह्वान गर्दै सडकमा निस्किएका कार्यकर्तालाई कतिपय ठाउंमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । प्रहरीले काठमाडौको सामाखसुसी, कलंकीबाट आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ ।
