बुटवल, २१ माघ । बुटवल केन्द्रिय कार्यालय रहेको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर शेयर बजार विकास र विस्तार सम्बन्धमा माग गरेको छ ।
मंगलवार अर्थमन्त्रालयमा भएको कार्यक्रममा प्रदेश ५ शेयर लगानीकर्ता फोरमले अर्थमन्त्रीलाई भेटेर वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनु पर्ने, प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्ने, धितोपत्र बोर्ड र नेप्सेलाई प्रदेश स्तरमा पनि उपस्थिति गराउनु पर्ने, पूर्ण स्वचालित अनलाईन कारोवार प्रणालीको निर्माण, समयमा वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई कारवाही र लिलामी शेयर खरिद गर्नको लागि अनलाईन प्रणालीको निर्माण गर्न माग राखेको छ ।
त्यस्तै फोरमले अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा शेयर बजारले ऐतिहासिक रेकर्ड बनाउदै गएकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि शेयर बजार विकासका लागि शुभकामना दिएको छ । प्रदेश ५ शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीका अनुसार कार्यक्रममा फोरमले उठाएका मागप्रति अर्थमन्त्री पौडेल सकारात्मक रहनु भएको छ ।
माग सहित कार्यक्रममा प्रदेश ५ शेयर लगानी कर्ता फोरमका तर्फबाट अध्यक्ष तिवारी, गोपीराज भुसाल र दिनेश गैरेको सहभागिता रहेको थियो ।