बुटवल, २८ पुस । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान शुरु गरेको छ ।
जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्दै समाजमा हुने वालविवाहको न्यूनिकरण गर्न अभियान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार वैदवारले जानकारी गराउनु भयो ।
अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने भएको छ ।
समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याई जातिय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जनामा टेवा पुराउनु नै रहेको प्रहरी वरिष्ठ उपरिक्षक वैदवारले बताउनु भयो ।
आईतवार देखि शुरु गरिएको अभियान २०७७ चैत्र २६ गते सम्म लुम्विनी प्रदेस स्तरका १२ जिल्लामा र ५३ वटा इलाका प्रहरी कार्यालय गरि ६५ प्रहरी कार्यालयबाट संञ्चालन गरिने भएको छ । अभियान अवधिभरमा ३ सय ९० वटा कार्यक्रमहरु संचालन गरिने छ ।
लुम्विनी प्रदेश प्रहरीले संचालन गरेको यस अभियानलाई उपलब्धिमुलक सफलता पूर्ण बनाउन हरेक क्षेत्रवाट सहयोग पुराउन प्रहरीले सबैमा आह्वान समेत गरेको छ ।