बुटवल, २७ पुस । आज पुस २७ गते, २९९ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडे भएपनि जनस्तरबाट भने विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिएको छ । यस बर्ष पनि रुपन्देही लगायत विभिन्न जिल्लामा जनस्तरवाट पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्ने तयारी गरिएको छ । पृथ्वी नारायण शाहले गरेको नेपाल एकीकरण, नेपालमा न्याय प्रणालीको सुरुवात र राज्य ब्यवस्थापनका दिब्य उपदेशहरु आज उत्तिकै सान्दर्भिक मानिएका छन् ।
पृथ्वीनारायण शाहले ससाना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरेर आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो । पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू–भाग नेपाल अधिनस्थ थियो ।
गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा शाहको वि.सं. १७७९ पौष २७ गते जन्म भएको थियो भने वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा निधन भएको थियो ।