तिलोत्तमा, २५ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगितामा रुपन्देहीको बुटवल वेलवासका कुमार ठकुरी र जनक थापाको समूह प्रथम भएको छ । करिहया रुपन्देहीका नवीन गुरुङ र रुकबहादुर थापाको समूहलाई १७–२१ र १४–२१ को सोझो सेटमा पराजित गर्दै कुमार र जनकको समूह प्रथम भएको हो भने नवीन र रुकबहादुरको समूह दोस्रो भएको छ ।
त्यस्तै प्रतियोगितामा मधवलिया रुपन्देहीका रनबहादुर सारु र लक्ष्मण गुरुङको समूह तथा गैंडहवा रुपन्देहीका अनिल बि.क र लक्ष्मण रानाको समूह तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभएको थियो । प्रथम हुनेले २१ हजार १११, द्वितीयले ११ हजार १११ र तृतीयले ५ हजार १११ नगद हात पारे ।
त्यस अवसरमा वोल्दै मन्त्री गिरीले आयोजक नवज्योती युवा क्लवले सुविधासम्पन्न कभर्डहल बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरेको भन्दै क्लवको अभियानमा आफूले साथ दिने बताउनुभयो । उहांले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार युवाहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
प्रतियोगितामा उदीयमान खेलाडी बुटवलका १८ वर्षिय किरण थापा र गैडहवा रुपन्देहीका १६ वर्षिय लक्ष्मण रानालाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरिएको थियो ।
समाजसेवी स्व.किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा प्रथम एनजेवाईसी खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितको अम्पायरमा प्रमोद पहारी र अर्जुन कार्की रहनुभएको थियो ।
क्लवका अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक प्रेमबहादुर केसी, सचिव सागर भट्टराईलगायतले बोल्नुभएको थियो । प्रतियोगितामा रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासीका ६४ वटा टिमले भाग लिएका थिए ।