संसार पोष्ट
बुटवल, ४ साउन । नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपि शर्मा ओली ज्ञानेन्द्र पथमा अगाडी बढेको आरोप लगाउनुभएको छ । शक्ति केन्द्रिकृतकै दुष्प्रयासका कारण जनताले पुर्वराजा ज्ञानेन्द्रको सत्ता ढालिदिएको स्मरण गर्दै नेता खाँणले शक्ति केन्द्रिकृतमा लागिरहे ओलीतन्त्र पनि समाप्त भएर जाने दावी गर्नुभयो । विपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको अयोजनामा शनिबार बुटवलमा भएको विपि कोइराला र बर्तमान सन्र्दभ बिषयक बिचार गोष्ठिलाइ सम्बोधन गर्दै नेता खाँणले प्रम ओली शक्तिको अत्यन्तै भोको रहेको र त्यसले उनलाइ पतनको बाटोमा डोर्याएको उल्लेख गर्नुभयो ।
‘ओलीलाइ प्रधानमन्त्री मात्रै भएर पुगेन । राज्यका महत्वपूर्ण बिभाग, अर्थ, गृह र अन्य विकास मन्त्रालयका अधिकार पनि सबै चाहिएको छ’ नेता खाँणले भन्नुभयो –‘ओलीले यसैगरी शक्तिकेन्द्रिकृत गरिरहे र जनताका मौलिक हकहरु खोस्ने दुष्प्रयास जारि राखे ज्ञानेन्द्रकै नियति भोग्ने निश्चित छ’ । लोकतान्त्रिक शासन पद्धतिमा हुनु पर्ने जवाफदेहिता,पारदर्शिता र जिम्मेवारीपन अहिलेको सरकारमा नदेखिएको बर्तमान परिप्रेक्ष्यमा बिपिका बिचार र सिद्धान्तको सान्दभिर्कता झन बढेको नेता खाँणले बताउनुभयो । लोकतान्त्रिक शासन पद्धतिमै विश्वास नगर्ने कम्युनिष्टहरु सरकारमा रहेकाले नागरिकका हक अधिकारको रक्षाकालागि विपीका सिद्धान्त र बिचारलाइ आदर्श मान्नेहरु चनाखो हुनुपर्ने बेला आएको बताउनुभयो ।
इन्काउन्टरको नाममा सरकार व्यक्ति हत्याका घटनामा संलग्न भएको आरोप पनि उहांले लगाउनुभयो । कुमार पौडेल हत्याको प्रसंग उल्लेख गर्दै नेता खाँणले भन्नुभयो –‘गिरफतार भएका व्यक्तिलाइ हातखुट्टा भाँचेर मार्न पाइन्छ ?’ यदि उनले गोली चलाए भन्ने हो भने हात भांचिएका मान्छेले कसरी बन्दुक चलाए ? यदि उनले फायरिङ गरे भनेर मान्ने हो भनेपनि मारिएको व्यक्तिको हातखुट्टा किन भाचियो त ?’ व्यक्ति हत्या र हिंसाको बिरुद्धमा रहेका विपि कोइरालाका सिद्धान्तलाइ सबैले अंगाल्नु पर्नेमा उहांले जोड दिनुभयो । विश्वका कुनैपनि कम्युनिष्टहरुले जनताको सर्वोच्तालाइ नस्वीकार्ने उल्लेख गर्दै उहांले ओली सरकारले पनि नागरिकलाइ मालिक नभइ सरकारको सेवकका रुपमा लिएको टिप्पणि गर्नुभयो । कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, राष्ट्रियोजना आयोगका पुर्व उपाध्यक्ष डा.गोबिन्द पोखरेल, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, विपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका अध्यक्ष युवराज गीरी, उपाध्यक्ष द्धय हरि पन्त, लक्ष्मण आचार्य क्षत्री र आजीवन सदस्य खिमानन्द भट्टराइ, अधिवक्ता महेन्द्र पाण्डेलगायतले बोल्दै नेपाली काँग्रेसले सदैब बिपीका बिचार, सिद्धान्त र प्रजातान्त्रिक समाजबादलाइ आत्मसाथ गरेर जनताको पक्षमा शसक्त आवाज उठाउने काम गरिरहेको धारणा राख्नुभयो ।
यसैबिच विपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको तेश्रो अधिवेशनले युवराज गिरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा बिमलराज भट्टराइ, सचिवमा खिमानन्द भट्टराइ, सह सचिवमा दिनानाथ गिरी, कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली चयन हुनुभएको छ । प्रतिष्ठानका सदस्यहरुमा डोलप्रसाद अर्याल, शशिधर घिमिरे, बिनोद ज्ञवाली, सिता कार्की र राधा ज्ञवाली चयन हुनुभएको छ भने सुन्दरकुमार गहतराज लेखा समिति संयोजकमा चुनिनुभएको छ । लेखा समितिका २ जना सदस्य र ४ जना कार्यसमिति सदस्य पछि मनोनयन गर्ने ब्यवस्था रहेको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।