संसार पोष्ट
सैनामैना, ४ साउन । यो वर्ष असार ३१ बाटै सुरु भएको श्रावणी मेला तथा बोलबम जलार्पण यात्राको सुरु दिनको सहभागिताबाटै आयोजकहरु उत्साहित भएका छन ।
विगतका वर्षहरुमा भन्दा यो वर्ष बोलबम यात्रामा सहभागी हुने बोलबम यात्री भक्तजनहरुको संख्या बढेको र बोलबम यात्रालाई व्यवस्थित र अझै सहज वनाउन श्रावणी मेला तथा बोलबम धाम व्यवस्थापन मूल समितिले दिनरात नभनेर काम गरेको पर्रोहा बोलबम मन्दिर व्यवस्थापन समितिका महासचिव प्रेम भुसालले जानकारी दिनुभयो ।
उहाँले बोलबम यात्रामा सहभागी हुन चाहने भक्तजनहरुलाई मन्दिर व्यवस्थापन समितिले सहज समन्वय गरी यात्रामा प्रोत्साहित गरिरहेको समेत बताउनु भयो ।
बोलबम यात्रा व्यवस्थापन समितिका संयोजक अर्जुन धमालले यात्रा व्यवस्थापनको जिम्मेवारी पहिलोपटक पाउँदा केही चुनौति हुन्छ कि भनेर चिन्ता लागेपनि अहिले भने यात्रामा सहभागि हुने भक्तजनको संख्या देखेर झनै उत्साहित वनाएको बताउनु भयो ।
उहाँले असार ३१ गतेको कपिलवस्तुको यात्रा नै उत्साहजनक भएको र त्यसवाट नै आफूहरुलाई यो वर्ष विगतमा भन्दा धेरै भक्तजन बोलबम यात्रामा सहभागी गराउन सकिन्छ भन्ने विश्वास जागेको बताउनु भयो ।
संयोजक धमालका अनुसार अव साउन ९ गते त्रिवेणीको लागि पैदल यात्रा तय गरिएको छ जस अनुसार १२ गते बोलबम धाममा आई जलार्पण गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी १८ गते देवघाटको लागि यात्रा तय भएको छ भने १९ गते बोलबममा आई जलार्पण गर्ने कार्यक्रम छ भने जलार्पण यात्राको अन्तिममा साउन २६ गते रिडीको यात्रा तय गरिएको छ ।
विगतमा भन्दा अहिले भक्तजनमा बोलबमप्रति लगाव बढ्दै गएकोले पनि यात्राप्रति विगतमा भन्दा अहिले धेरै श्रद्धालु बढिरहेको संयोजक धिमालको भनाई छ ।
बोलबम यात्रा व्यवस्थापन समितिका सचिव जगदिश वाग्लेले विगतमा भन्दा यो वर्ष सुरुकै कपिलवस्तुको लक्ष्मणघाट बोलबम यात्रा व्यवस्थित र भक्तजनको संख्याको हिसावले पनि उत्साहजनक भएको बताउनु भयो ।
उहाँले अव हुने त्रिवेणी, देवघाट र रिडीको बोलबम यात्रामा भक्तजनको सहभागिता बढाउन अहिले देखिएको उत्साहले पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्रोहा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीले विगतका अनुभवबाट पाठ सिक्दै बोलबम यात्रालाई थप प्रभावकारी वनाउने विश्वास व्यक्त गर्नुभयो ।
कपिलवस्तुको बोलबम यात्रामा सैनामैना नगरका नगर प्रमुख चित्रवहादुर कार्की, उपप्रमुख, बाणगंगा नगरपालिकाका प्रमुख समेत सहभागी हुनुभएको थियो जसवाट बोलबम यात्रा आयोजकहरुलाई थप उत्साह मिलेको बताइएको छ ।
