बुटवल,२६ मंसिर ।
रुपन्देहीको तिलोत्तमामा आइतबारदेखि प्रथम तिलोत्तमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
आयोजक तिलोत्तमा नगर खेलकुद विकास समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।
नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा नगर भित्रका १० टिमको सहभागीता रहने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनु भयो ।
प्रतियोगिताको विजेताले ५० हजार पुरस्कार राशीसहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
एक वडाबाट एक टिमले मात्रै सहभागीता जनाउन पाउने प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि ५ लाख खर्च अनुमान गरिएको छ ।
नगरपालिकाले आगामी वैशाखसम्म गरिने विभिन्न ९ वटा प्रतियोगिता आयोजना गर्न लागेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनु भयो ।
मंसिरमा भलिबल प्रतियोगिता, पुस महिनामा व्याटमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल तथा माघ महिनामा उप मेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने नगरपालिकाले जनाएको छ ।
यसैगरी माघ महिनामै मेयर कप रनिङ्ग सिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट प्रतियोगिता,फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।
नगरपालिकाले यसै आर्थिक वर्षको वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । वर्षभरी सञ्चालन गरीने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोग पुग्ने उप मेयर जगेश्वरी देवी चौधरीले बताउनु भयो ।
स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको उप मेयर चौधरीले जानकारी दिनु भयो ।