बुटवल, २५ मंसिर । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले कोरोना संक्रमित गीतको सृजना गर्नु भएको छ । रात दिन बिरामीको सेवामा समर्पित डा. खनाल आफैमा कोरोना संक्रमित भएर बिस्तरामा लखतरान परेको वेला बिरामीका पिडाको अनुभूति र भोलीको भबिष्यका बारेमा आउने सोंचलाई समेटेर डा.खनालले गीतको सृजना गर्नु भएको हो ।
संक्रमणले छटपटाईरहेका कोरोना संक्रमितका पिडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको एक कार्यक्रमका बीच विहिवार बुटवलमा सार्वजनिक गरिएको छ ।
समर्पण, पीडा र आशा वोकेको म्युजिक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने मनोभावलाई जस्ताको तस्तै म्युजिक भिडियोमा उतारिएको छ ।
दुःखाईको पिडा, मृत्यु भएपछि परिवारले भोग्नु पर्ने पिडाको अवस्था, संक्रमित हुंदा समाजले गर्ने तिरस्कार, प्लास्टिकमा बेरिएर गरिएको दाहसंस्कार मानसपटलमा कसरी घुम्दछ भन्ने बिषयलाई म्युजिक भिडियोमा उतारिएको छ ।
बिरामीको सेवामा लाग्दा एउटा चिकित्सकमा आउने भावनालाई शब्दमा उनेर डा. खनालले कारुणिक सिर्जना गर्नुभएको छ ।
वालकृष्ण पान्डेको संगित, डा. राजेन्द्र खनालको शब्द, सुदिप सागरको एरेन्ज, सनोज पौडेलको फोटोग्राफी र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको म्युजिक भिडियो युट्युव च्यानलमा हेर्न र सुन्न सकिने डा. खनालले बताउनु भयो ।
सामाजिक विकास मन्त्रालयका निर्देशक उमाशंकर चौधरीले आफु संक्रमित हुंदा भेन्टिलेटरमा बसेर कल्पना गरेको कुरा म्युजिक भिडियोमा समेटिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण खनालले आफु संक्रमित हुँदा स्थानीय जनप्रतिनिधिले आफ्नो घरको गेटमा बाहिरबाट ताला लगाईदिएको स्मरण गर्दै आफन्तले समेत १० मिटर टाढाबाट बोल्ने गरेको अनुभव सुनाउनु भयो । कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले समेत कोरोना संक्रमितको उपचारका लागि अस्पतालले गरेका योगदानको वारेमा प्रकाश पार्नु भयो ।
