बुटवल, २३ मंसिर । रुपन्देही प्रहरीले अवैध रुपमा भारततर्फ लैजांदै गरेको अवस्थामा जिल्लाको दुई स्थानवाट दुई ट्रक गोरु बरामद गरेको छ । देवदह नगरपालिका–११ शंकरपुरमा चेकजाँच गर्ने क्रममा ना.६ ख.३८६१ नं.को ट्रकमा राखेर अबैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।
चेक जाँचको क्रममा अवैध कार्यमा संलग्न जिल्ला मकवानपुर हाडीखोला गाउँपालिका वडा न. ७ बस्ने वर्ष ४२ को ट्रक चालक अम्मर बहादुर घिमिरे र सहचालक जिल्ला रूपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १९ को सुदिप खानलाई नियन्त्रणमा लिईएको रुपन्देही प्रहरीले जनाएको छ ।
यस्तै रुपन्देहीकै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ लोखडिया पश्चिम बाट अवैधरुपमा लु १ ख ९८९५ नम्बरको ट्रकमा लोड गरेर पुर्व तर्फ लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले २८ गोटा गोरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सत्य बहादुर थापाले जानकारी दिनुभयो ।
प्रहरीले सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नम्बर २ कोलाघाट बस्ने ट्रक चालक बर्ष ३२ को गणेश बहादुर, सहचालक बर्ष १७ को बिरेन्द्र सुनार, नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्बर १ डाँडाटोल बस्ने बर्ष १७ को भिम बहादुर बिक, कपिलबस्तु सुद्दोधन गाउँपालिका वडा नं. २ बस्ने बर्ष ५० को ईवारत मुसलमान र बर्ष ३० को मिठ्ु मुसलमान नियन्त्रणमा लिएकोछ । यसरी नियन्त्रणमा लिईएका अवैध कार्यमा संलग्न ब्यक्ति, ट्रक र गोरुलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि रुपन्देहीको भैरहवा स्थित पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियामा पठाईएको रुपन्देही प्रहरीले जनाएको छ ।
