बुटवल,२१ मंसिर ।
बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये काठमाडौं महानगरपालिका बसन्तपूरका राकेश न्यौपानेलाई गोली लागेको हो ।
चिउँडोमा गोली लागेका उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ ।
गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु होटेलमा बसेको सूचनाका आधारमा सादा पोशाकका दुईजना प्रहरी रेकी गर्न गएका प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई हान्ने क्रममा आफ्नै समूहका साथीलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनु भयो । प्रहरीले चार जना बसेको कोठामा चुकुल लगाइदिएर थप प्रहरी बल बोलाएको थियो । त्यसपछि कोठामा बसेकाहरुले ढोका फोडेर प्रहरीको पेस्तोल खोसेर गोली चलाएको रुपन्देही प्रहरीका प्रवक्ता थापाको भनाइ छ । प्रहरीले होटेलबाट लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउतलाई नियन्त्रणमा लिएको छ ।
