रामकुमार श्रेष्ठ
नवलपरासी, १६ मंसिर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–९ मा थुम्की देवी ब्राइट फ्युचर इङ्गलिस बोर्डिङ्ग स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएका ३ जना मध्ये एक जनाको निधन भएको छ ।
मंगलबार विहान मध्यविन्दु नगरपालिका–९ बसन्तपुरको भित्री सडकखण्डमा ग १ क २४८३ नम्बरको स्कूल बसले विपरित दिशाबाट आउँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ३ जना गम्भीर घाइते भएका थिए । घाइते मध्ये मध्यविन्दु नगरपालिका–१३ निवासी ३५ बर्षीय सन्तबहादुर कुमालको निधन भएको हो ।
उनको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताउनु भयो । दुर्घटनामा परी मध्यविन्दु–१३ निवासी मनु विक, २६ बर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । उनीहरुको भरतपुर पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
ठक्कर दिने बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
