बुटवल, ३ साउन । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेलले जेठ मसान्त सम्म विकास आयोजनाका काम सक्ने गरि काम अगाडि बढाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
प्रदेश सरकार अन्तर्गगतका मन्त्रालयहरुले शुक्रवार आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले विकास निर्माणका कामको कामको गुणस्तर र प्रभावका लागि पनि जेठ मसान्तसम्म विकास आयोजनाका कामहरुलाई अगाडि बढाउनु पर्ने बताउनु भयो । मुख्यमन्त्रीले भन्नुभयो– “असार लागेपछि बर्षायाम शुरु हुने र कामको गुणस्तर पनि कमजोर हुन्छ । त्यसैले आर्थिक वर्षको अन्त्यमा हतारमा बजेट कार्यान्वयन गर्ने प्रवृति अन्त्यको लागि जेठ मसान्तलाई बजेट कार्यान्वयनको समयसीमा मानौ ।”
उहाँले विकास आयोजनाको निमार्ण गर्दा २० वर्ष पछिको अवस्थालाई ख्याल गर्न र बहुवर्षीय आयोजनालाई पहिले नै टुंगो लगाएर अघि बढ्न समेत मुख्यमन्त्री पोख्रेलले सचिवहरुलाई निर्देशन दिनुभयो ।
उहाँले प्रदेशका १० गौरवका आयोजनाको छनौटको तयारीमा लाग्न मन्त्रालयहरुलाई निर्देशन दिदै आर्थिक मामिला बाहेक अरु पाँच मन्त्रालयले कम्तिमा तीन आयोजना छनौट गरी प्रस्ताव अघि बढाउन पनि आग्रह गर्नुभयो । उहाँले प्रदेशका गौरवका आयोजनामा श्रोतको द्विविधा नराख्न मन्त्री र सचिवहरुलाई आश्वस्त पार्नुभयो ।
उहांले चरँगे—झुम्सा वाइपास सडकमा चालु अर्थिक वर्ष भित्रै गाडी चल्न सक्ने गरी काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले लुम्बिनी प्रादेशिक अस्पताल राम्रो र आन्तरिक श्रोत भएको अस्पताल हुदाहुदै पनि अस्तव्यस्त छ भन्दै अस्पताललाई पूर्वाधार र व्यवस्थापन राम्रो बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । बुटवल र तुलसिपुरमा विशेषज्ञ सेवा उपलब्ध गराउने र सामान्य चिकित्सा सेवाको लागि जिल्ला अस्पतालमै उपचार हुने व्यवस्था गर्ने गरी काम हुनुपर्नेमा मुख्यमन्त्रीले जोड दिनुभयो ।
विपदको व्यवस्थापन गर्न केन्द्रको भर पर्ने प्रवृतिको अन्त्य गर्न निर्देशन दिदै उहांले ‘विपदको व्यवस्थापन गर्ने क्षमता विकास गर्ने गरी अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सामाजिक मन्त्रालयले गर्ने कार्यक्रमको प्रतिफल यही वर्ष पाउने हुनुपर्ने बताउनुभयो । उहांले अरु मन्त्रालयले गर्ने कामको प्रतिफल पाउन समय लाग्ने भएपनि राम्रो संग काम गर्न सके सामाजिक विकास मन्त्रालयको प्रतिफल तत्काल पाउन सकिने बताउनुभयो ।
उहाँले पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी केन्द्रीत भएर गर्न निर्देशन दिनुभयो ।‘लुम्बिनी र यससंग सम्बन्धित स्थलहरुमा पर्यटन प्रवद्र्धनको काममा ध्यान दिऔं, त्यसपछि अरु सम्पदालाई जोडौं—उहाँले भन्नुभयो । उहाँले निग्लिहवा र गोटिहवामा बुद्धमूर्ति प्रतिस्थापन र रामग्रामको बौद्धकालीन संग्रहालय नमूना बन्नुपर्ने बताउनुभयो । उहाँले पाल्पा दरबार संग्रहालय प्रदेशको सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले कृषिका कार्यक्रमको सफलताको मापनको आधार उत्पादन बढेको, निर्वाहमुखीबाट बजारमुखी प्रणालीतर्फ गएको हुनुपर्ने बताउनुभयो । उहाँले गुल्मी, अर्घाखाँची र पाल्पालाई कफि खेती पकेटको रुपमा विकास गर्ने गरी अघि बढ्न निर्देशन दिनुभयो ।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्तर समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिदै मन्त्रालयबीचको सहकार्य र समन्वयले बजेट कार्यान्वयन सहज हुने बताउनुभयो ।
