बुटवल २२ कार्तिक
रुपन्देहीको सैनामैनामा महिला हिंसा तथा बलत्कार बिरुद्ध मौन जुलुस प्रदर्शन गरिएको छ । सैनामैना १० सालझण्डीमा श्री बिश्व शान्ती युवा क्लव र लायन्स क्लव अफ सैनामैनाको आयोजना तथा सैनामैना जेसिज र घरघरमा हामी छौ नामक संस्थाहरुको सहकार्यमा भएको कार्यक्रममा बलत्कार तथा महिला यौन हिंसा बिरुद्ध प्ले कार्ड सहित मौन जुलुस निकालिएको होे ।
हात तथा कपालमा कालो पर्टी लगाएर कालो पहिरनमा भएको मौन जुलुसमा मै लक्ष्मी,मै कुमारी तर हामी नै बलत्कार,अव त अति नै भयो बलत्कार बन्द गर जस्ता नारा उल्लेख गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नै दैलो अगाडी महिला तथा बालिका बलत्कार हुदा बलत्कारीहरु उन्मुक्ती हुनु सरकार, सरकारका मन्त्री र सुरक्षाकर्मीहरु आंखामा पर्टी बांदेर बस्नुले अपराधीहरुको मनोवल बृद्धि भएको बताएका छन ।
सैनामैना जेसिज बर्ष २०२० का अध्यक्ष सिता क्षेत्रीले दिनानु दिन महिला हिंसा र बलत्कार बढ्नु भनेको सरकार अपराधी र बलत्कारीहरुको घेराबन्दीमा परेको र करोडौं नागरिकहरुले बलत्कार बिरुद्ध आन्दोलन गर्दा अपराधीहरु पत्ता नलाग्नु दुखद भएको बताउनु भयो ।
पत्रकार शिव डुम्रेले जनताले स्थायी सरकार निर्माण गरी देशमा शान्ती सुरक्षा कायम गर्न दुई तिहाईको बहुमत दिए पनि सरकारले हरेक दिन महिला हिंसा,बलत्कार र हत्याको श्रृंखला बढिरहेको र देशमा कुनै परिबर्तन दिन नसकेको गुनासो गर्नु भयो ।
बिश्व शान्ती युवा क्लवका शिसिर घिमिरेले २१ औं शताब्दीमा पनि महिला हिंसा,बलत्कार तथा हत्याको बिरुद्धमा आन्दोलन गर्नु पर्ने विडम्वना भएको बताउनु भयो ।
