सैनामैना, १९ कात्तिक । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ५ का नेकपाका १८६ जना कार्यकर्ता नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार सैनामैना ५ को प्रगति टोलमा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु काँग्रेसमा प्रवेश गरेका काँग्रेस सैनामैनाका सभापति रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई काँग्रेसका नेता तथा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले अबिर र खादा लगाइदिएर पार्टी प्रवेश गराउनु भएको हो ।
सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेता शाहले सामान्य स्वास्थ्य उपचार नपाएर नागरिकहरुले ज्यान गुमाइरहंदा सरकार भने भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनु भयो । जनताको सुख दुःखको साथी नेपाली काँग्रेस नै भएको दावी गर्दै उहाँले जनहितकालागि काँग्रेसको विकल्प नभएको बताउनु भयो । नेता शाहले जनतालाइ सन्तुष्ट बनाउने गरी आफु यस क्षेत्रको विकासमा लागेको समेत उल्लेख गर्नु भयो ।
सो कार्यक्रममा काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, युवा नेता विष्णु प्रसाद पोख्रेल, सैनानमैना नगर समितिका सभापति रामप्रसाद अधिकारीलगायतले बोल्दै अधिनायकवादी कम्युनिष्ट सरकारले जनहितमा कुनै काम गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा कम्युनिष्टहरुलाई सत्तामा पुग्न नदिनका लागि सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेहरुका तर्फबाट बोल्दै बिजय सुनारले कम्युनिष्ट सरकार जनतामारा देखिएकाले आफुहरु नेपाली काँग्रेसमा प्रवेस गरेको बताउनु भयो । नेपाली काँग्रेस सैनामैना ५ का वडा सभापति तुलसीराम पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत तुलसा भुसाल र सञ्चालन भोजप्रसाद पाण्डेले गर्नुभएको थियो ।
