बुटवल, १८ कात्तिक । वी. पी विचार राष्ट्रिय समाज रुपन्देहीले नेपाली काँग्रेसका नेता बिजय प्रसाद धितालको निधन भएको पाचौँ दिनको पुन्य तिथिमा उहांकै निवास रुपन्देहीको मणिग्राममा शोक सभा गरेको छ ।
वी. पी. विचार राष्ट्रिय समाज रुपन्देहीका आजिवन सदस्य तथा जिल्ला विकास समिति रुपन्देहीका पूर्व सभापति समेत रहनुभएका पुराना नेता धितालको सम्मानमा आज आयोजित शोक सभामा बोल्ने नेताहरुले स्वर्गीय धिताल सदा निष्ठाको राजनीति गर्ने सच्चा आदर्श पुरुष भएको धारणा राखेका थिए ।
शोक सभामा शोक मन्तब्य राख्दै संघीय संसद सार्वजनिक लेखासमिति सभापति भरत कुमार शाहले स्व. धितालले नेपाली काँग्रेसको संगठन सुदृढिकरण र रुपन्देही जिल्लाको समग्र विकासमा महत्वपुर्ण योगदान गर्नुभएको स्मरण गर्नुभयो । धितालले जिल्लाको पिछडिएको क्षेत्र मर्चवारबाट विकास निर्माणको अभियान शुरु गर्नुभएको उल्लेख गर्दै सभापति शाहले उहांको निधनले पार्टीले एक सच्चा र आदर्श पुरुष गुमाएको र जिल्ला वासीले विकास प्रेमी नेता गुमाएको उल्लेख गर्नुभयो ।
शोक सभामा नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति राम चन्द्र ढकाल, प्रतिनिधि सभा सदस्य प्रमोद यादव, पार्टीका जिल्ला सचिव रामकृष्ण खाण, महासमिति सदस्य युवराज गिरि, क्षत्रीय सभापति मात्रिका यादव, बुटवल नगर सभापति खेलराज पाण्डे, नेता रोमणि प्रसाद पाठक, विष्णु पोख्रेल, नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेलगायतले बोल्दै धितालको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको वताउदै स्वर्गीय धितालको सोच र आदर्श अनुसार पार्टीका नेता कार्यकर्ता चल्न सके उहांप्रति सच्चा श्रद्धाञ्जली हुने वताउनु भयो ।
वी. पी . विचार राष्ट्रिय समाज रुपन्देहीका सभापति सरद भट्टराईको अध्यक्षतामा भएको शोक सभामा सचिव कृष्ण पोख्रेल, वी . पी विचार राष्ट्रिय समाज तिलोत्तमाका सभापति कल्याण पौडेललगायतले स्वर्गीय धितालको योगदान माथि प्रकाश पार्नु भएको थियो ।