बुटवल, २० असोज । प्रदेश नं. ५ को प्रदेश सभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभाकै रोष्टमबाट सांसदहरु प्रति असहिष्णु र अमर्यादित व्यवहार गरेको प्रति नेपाली काँग्रेसले आपत्ती जनाएको छ । नेपाली काँग्रेस प्रदेश नं. ५ को प्रदेश सभा सचेतक निर्मला क्षेत्रीले विज्ञप्ती जारी गर्दै मन्त्रीले सांसद बिरुद्ध बोलेका अमर्यादित शब्दहरु संसद सचिवालयको रेकर्डबाट हटाउन र ती शब्दहरु फिर्ता लिन रुलिङ गर्न सभामुखलाइ आग्रह गर्नुभएको छ । ती शब्दहरु फिर्ता नलिए र फिर्ता लिन रुलिङ नगरे संसदको आगामी कार्यक्रमहरु अवरुद्ध गराइरहने विज्ञप्तीमा उल्लेख छ । संसदको गरिमा र मर्यादा विपरित मन्त्रीले नै रोष्टमबाट सांसदहरुलाइ घिसारेर निकालीहाल भनेर मर्यादा पालकलाइ दिएको निर्देशनले सांंसदहरुलाइ उत्तेजित बनाउने काम गरेको भन्दै सचेतक क्षेत्रीले त्यसप्रति खेद प्रकट गर्नुभएको छ । सभामुखलाइ साक्षी राखेरै अशोभनिय र अमर्यादित शब्द प्रयोग गरी संसदको गरिमाको धज्जी उडाएको सचेतक क्षेत्रीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सोमबारको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले नै संसदको रोष्टमबाटै सांसदहरुलाइ घिसारेर बाहिर निकाल्न निर्देशन दिनुभएको थियो । प्रतिपक्ष सांसदहरुले संसदिय मर्यादा कायम हुनुपर्ने, असंवैधानिक ढंगबाट ल्याइएको प्रदेशको नाम र राजधानी सम्बन्धि प्रस्ताव खारेज गर्नुपर्ने लगायतका माग राखेर सदन अबरुद्ध गरेका थिए ।
अबरोधका बाबजुद मन्त्री केसी रोष्टममा पुगेर बोल्न लाग्दा विपक्षी सांसदले टेबल ठोकेर बिरोध गर्न नछोडेपछि उहां आवेशमा आउनु भएको थियो । तत्कालिन माओवादीबाट निर्वाचित मन्त्री केसीले रोष्टमको ठिक तल उभिएका मर्यादापालकलाइ तन्किदै पछाडीबाटै कोट्ट्याएर आक्रोसित मुद्रामा भन्नुभयो– ‘हेलो समातेर हाली दिनुस’ । घिसारेर निकालिदिनुस, निकाल्दि हाल्नुस’ ।
