नवलपरासी, १९ असोज । कोरोना संक्रमणबाट मुक्त भएका ३३ जनाले एउटै थलोमा रक्तदान गरेका छन् । नेपाली काँंग्रेस कोभिड–१९ अनुगमन जिल्ला समितिद्वारा सोमबार कावासोतीमा आयोजित कार्यक्रममा ३ महिलासहित ३३ जनाले प्लाज्मा दान (रक्तदान ) गरेका हुन् । कोराना लागेर निको भएकाले दिएको रगतबाट प्लाज्मा निकालेर जटिल लक्षणसहितका कोरोनाका बिरामीलाई बचाउन सघाउन प्लाज्मा दान गरिएको हो ।
रक्तदानमा सहजिकरण गरेका डा. गंगा सापाकोटाले कोरोना संक्रमणमा परेका तर शरिरले प्रतिरोध क्षमता बढाउन नसक्ने (एन्टीबडी उत्पादन) अवस्थाका कोरोना संक्रमितलाई प्लाज्मा दिएर रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाइने जानकारी दिनुभयो । भारत र अमेरिकामा यस्तो रक्तदान गरिँदै आएपनि समुदायमा एकै पटक यति धेरै कोरोना संक्रमणवाट निको भएकाले एकै पटक दान गरेको यो पहिलो पटक भएको उहांले बताउनु भयो ।
भरतपुर क्षेत्रिय रक्तसञ्चार केन्द्रका प्रमुख रमेश पौडेलले कम्तिमा एउटा रक्त समूहका ५ जना सदस्यको यस्तो रगत राख्दा जोखिममा परेका कोरोना संक्रमित (लक्षण देखिएका) लाई बचाउन सहयोग पुग्ने भएकाले यस्तो प्लाज्मा दान कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
कोरोनाको लक्षण देखिएर (ज्वारो, रुघाखोकी लगायतका लक्षण) निको भएकाबाट लिइएको रगतले अझ चाँडो एन्टिबडी (रोग प्रतिरोधात्मक क्षमता) को काम गर्ने भएकाले त्यसको वर्गिकरण गरेर रगतको प्लाज्मा उपयोग गरिने डा.गंगा सापकोटाले बताउनु भयो ।
एउटा व्यक्तिबाट निकालिने ३ सय ५० देखि ६ सय एमएल रगत मेसिनमा राखेर छुट्याउँदा त्यसको ५० देखि ६० प्रतिशत प्लाज्मा काम लाग्ने हुन्छ । रक्तदानबाट निकालिएको रगत प्रयोगशालाको मेसिनमा राखेपछि तरल पदार्थ र रक्तकोषहरु छुट्याउने गर्दछ ।
रक्तदानमा सहभागि नेपाली काँंग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरेले कोरोना संक्रमणबाट आफू मुक्त भएर अरुको ज्यान बचाउन रक्तदान गर्न पाउँदा आफूलाई आनन्द लागेको बताउनु भयो ।