रामकुमार श्रेष्ठ
नवलपरासी, १६ असोज । पूर्वी नवलपरासीमा प्रहरी प्रशासनले नदीजन्य वस्तुको दोहान नियन्त्रणका लागि प्रयास थालेसँगै नवलपुरका ट्याक्टर व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन् ।
विहीबार मात्रै नवलपुरमा नदीजन्य वस्तु दोहन गरिरहेको अवस्थामा विनयी त्रिवेणी गाउँपालिका २ मा रहेको विनयी खोलाबाट प्रहरीले १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
यसको विरोधमा शुक्रबार ट्याक्टर व्यवसायीहरुले नवलपुरको सदरमुकाम कावासोतीमा ट्याक्टर सहित विरोध र्याली निकाले । उनीहरुले नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउनु पर्ने वा स्थानीय तह आफैले रोयल्टी उठाएर भए पनि खोल्नु पर्ने माग राख्दै आन्दोलन गरेको नवलपुर टेक्टर समितिका अध्यक्ष शिव गिरीले बताउनु भयो ।
ट्याक्टर व्यवसायीहरुले कावासोती नगरपालिकाको डण्डाबाट सडक नै अवरुद्ध हुने गरी २ सय बढी ट्याक्टर सडकमा उतारेर कावासोतीको पुरानो कावासोती, थकाली चोक, सभापति चोक हुँदै, प्रशासन, नगरपालिका कार्यालय, फलफूल चोक, डिभिजन वन कार्यालय हुँदै पुन डण्डामा पुगेर कोण सभा गरेका थिए ।
नवलपुरका अधिकांश नदी तथा खोलामा गत बर्षदेखि अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । स्थानीय तहका प्रमुखहरुले भने खोलाको नदीजन्य वस्तु निकासीका लागि टेण्डर आव्हान गरेपनि कुनै पनि टेण्डर नपरेको बताउदै आएका छन् ।
खोला तथा नदीजन्य वस्तुको निकासीका लागि टेन्डर (ठेक्का) लाग्न नसक्दा एकातिर यहाँका दर्जन बढी खोलाहरुको करोडौं राजश्व बर्षेनी गुम्दै गएको छ भने अर्कोतर्फ नदीजन्य वस्तुहरुको चोरी निकासी पनि उत्तिकै बढेको छ ।