बुटवल, १६ असोज । प्रदेश ५ को राजधानी सार्ने प्रदेश सरकारको निर्णय प्रति नेपाली काँग्रेसले विरोध जनाएको छ ।
तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को राजधानी रुपन्देहीको बुटवलमा राख्ने निर्णय गरेको र सोही अनुसार राजधानीको लागि सम्पुर्ण पूर्वाधारहरु तयार भैरहेको अवस्थामा प्रदेश सरकारले स्थायी राजधानी दाङ्ग बनाउने निर्णय गरी प्रदेश संसदमा पेश गरेको घटना प्रति नेपाली काँग्रेस क्षेत्र नम्वर दुई रुपन्देही र बुटवल उपमहानगर समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
क्षेत्रिय सभापति हरि लम्साल र उपमहानगर सभापति खेलराज पाण्डेले संयुक्त विज्ञप्ति जारी गरी नेपाली काँग्रेस नेतृत्वको सरकारले राजधानी तोकी राजधानी सुचारु रुपले चलिरहेको अवस्थामा दुई तिहाईको दम्भले उद्धेलित नेकपाको प्रदेश सरकारको राजधानी सार्ने तानाशाही प्रबृत्ति र निर्णयको विरोध गर्दै निर्णयको विरोधमा उत्रिन आम जनसमुदायलाई आह्वान गर्नुभएको छ ।
विज्ञप्तिमा सरकारको यो निर्णयले उत्पन्न हुन सक्ने हरेक गतिविधिको जिम्मेवार नेकपा र नेकपा नेतृत्वको सरकार हुने समेत उल्लेख गरिएको छ ।