कावासोती, १६ असोज । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मुण्डे स्थित भित्री सडक खण्डमा लु २ त ५४०६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
दलदलेबाट धौवादीतर्फ जाँदै गरेको ट्याक्टर विहीबार दुर्घटना हुँदा देवचुली नगरपालिका ९ निवासी २८ बर्षीय किरण गुरुङको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते गुरुङको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी गराउनु भयो ।
ट्याक्टर सडकबाट अन्दाजी २० फिट तल खेतमा खसेको थियो । दुर्घटनामा परी ट्याक्टरमा सवार देवचुली ९ निवासी १८ बर्षीय विक्रम तामाङ र सोही ठाउँका ५३ बर्षीय धनबहादुर तामाङ गम्भीर घाइते भएका छन् ।
घाइतेहरुको देवचुली अस्पताल दलदलेमा सामान्य उपचार पछि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।