बुटवल १५ असोज
प्रदेश पाँचका करिव ९ हजार प्रहरीको आचरण, व्यवहार सुधार गर्नका लागि प्रदेश पाँचको प्रहरीले अनुशिक्षण कार्यक्रम संचालन गरेको छ ।
प्रहरी प्रधान कार्यालयबाट प्रहरी कर्मचारीहरुको आचरण एवं व्यवहार समयानुकुल सुधार अनुशासित, जवाफदेही, कर्तव्यनिष्ठ र नैतिकवान तुल्याउन जारी गरिएको नेपाल प्रहरीका कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता सम्वन्धी कार्यादेश, २०७७ लाई प्रदेश पाँचमा पनि शुरु गरिएको हो ।
प्रदेश प्रहरी कार्यालय र प्रदेश पाचँ प्रहरी कार्यालय मातहतका प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय,. प्रदेश दंगा नियन्त्रण प्रहरी गण, प्रदेश सशस्त्र प्रहरी गण, जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, बाँके, बर्दिया, रुकुम (पूर्व), ईलाका प्रहरी कार्यालयहरु र प्रहरी चौकीहरुमा कार्यरत ८हजार ९ सय २४ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण प्रदान गरियको प्रदेश ५ का प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रवक्ता राजकुमार वैदवारले बताउनु भयो ।
प्रहरी कर्मचारीले व्यावसायीक जीवनमा सेवा प्रवाह गर्दा प्रहरी कार्यालयमा आउने सेवाग्राहीसंग गर्ने व्यवहार, व्यवसायीक जीवनमा निर्वाह गर्नु पर्ने सिद्रान्त, कर्तव्य, प्रहरीको आचरण बारेमा प्रशिक्षण गरिएको थियो ।
त्यसैगरी सेवाग्राहीको गुनासो व्यवस्थापन, कानूनको प्रभावकारी कार्यान्वयन, पोशाकको प्रयोग, समाजिक संजालको प्रयोग, मानवअधिकारको संरक्षण तथा प्रत्याभुति लगायतका विविध विषयमा प्रशिक्षण गरियो। यसले समाजमा शान्तिसुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको अनुसन्धान, सामाजिक विकृतीलाई कम गर्न नागरिकसंग सहकार्यमा अभिवृद्धि जस्ता प्रहरीद्धारा सम्पादन गरिने मुख्य कार्यहरुको सम्वन्धमा प्रहरीको आचरण व्यवहार सम्वन्धी प्रशिक्षणबाट क्षमता अभिवृद्धि हुन अप्रेक्ष संगठनले लिएको छ ।