बुटवल १५ असोज
रुपन्देहीको सैनामैना नगरपालिकामा ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।
३० औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘महामारीमा बुढ्यौली र उम्मेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउछ’ भन्ने नाराका साथ नगरमा रहेका ११ वटै वडाका ११ जना ज्येष्ठ नागरिकहरु सम्मान गरि कार्यक्रको शुरुवात गरिएको होे ।
सम्मानित हुनेमा करिब ९० वर्षदेखि १ सय उमेर बढीका ६ जना महिला र ५ जना पुरुष छन् । नगरपालिकाले नगरमा रहेका वडा तथा घर घरमै पुगेर उनीहरुलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।
सम्मान गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सबै भन्दा ज्येष्ठ प्रत्येक वडाका एक एक जनालाई वडा कार्यालयमा नै नगरपालिका स्वंयम उपस्थिति भएर सम्मान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यस वर्ष एउटा प्रतिनिधीमुलक ढंगले वडाको सबभन्दा जेष्ठ नागरिकलार्ई सम्मान गरेका छौ ।’
नगर प्रमुख कार्कीले अहिले समाजमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेकोले गतवर्ष जस्तो ज्येष्ठ नागरिकहरुलाई एकै ठाउँमा भेला गराएर सम्मान गर्न सम्भव नभएको हुँदा वडा तथा घर घरमै पुगेर सम्मान गरिएको उल्लेख गर्नुभयो ।
नगरमा रहेका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिककोे निशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था नगरपालिकाले मिलाएको सैनामैना नगर उपप्रमुख बीना रानाको बताउनु भयो ।
बिहिबारबाट नै सम्पुर्ण नगरवासीहरुको स्वास्थ्य बीमा गर्नका लागि प्रत्येक वडामा एक एक जनाका दरले बीमा सहजकर्ता समेत खटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
सम्मान ग्रहण गर्दै वडा नं.१० दुर्गामन्दिर टोलकी १ सय १ वर्षीय मोती बुढा, वडा नं ११ बनकट्टाका ९६ वर्षीय शिवलाल आचार्य , वडा नं ५ कलौनीकी ९७ वर्षीय कुन्दा देवी चालिसे, वडा ४ रामनगरका ९४ वर्षीय जयराम पौडेल लगायतले वडा तथा घर घरमै आएर नगरले सम्मान गरकोमा खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
नगर स्वास्थ्य संयोजक हेमराज पन्थीका अनुसार हरेक परिवारका ५ जना सम्म सदस्यहरुले वार्षिक रुपमा ३ हजार ५ सय रुपैँयामा पारिवारिक स्वास्थ्य विमा पनि गर्न सक्नेछन् । परिवारमा ५ जना भन्दा बढी भए प्रति थप सदस्यको रु. ७ सयका दरले थप रकम तिनुपर्नेछ ।
पुर्ण रुपमा अपाङ्गता ( रातो कार्ड ) भएका व्यक्तिहरुको निशुल्क र महिला स्वास्थ्य स्ंवयम सेवीकाहरुको हकमा पारिवारिक बीमा गर्दा ५० प्रतिशत नगरपालिकाको अनुदानमा स्वास्थ्य बीमा गरिने महिला तथा बालबालिका शाखाका प्रमुख तुल्सा ज्ञवालीले जानकारी दिनुभयो ।