तिलोत्तमा, २ साउन । तिलोत्तमा नगरपालिकाले सिद्धार्थराजमार्ग अन्तर्गत छ लेन सडकको विचभागको डिभाइडरमा राखेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको प्रति चौतर्फी विरोध भएको छ । विभिन्न राजनीतिक दल तथा सामाजिक संजालमा यसको ब्यापक विरोध भएको छ । सिद्धार्थ राजमार्गको बटुवल बेलहिया सडक खण्डको बीच भागमा रहेको बुद्धको मूर्ति बुधबार राति तोडफोड भएको थियो ।
बुद्धका मूर्तिहरु तोडफोड गरिएको प्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै बुद्धको मूर्ति तोडफोड भएको घटनाको भ्रत्सना गर्नुभएको छ ।

‘गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो’ खाँणले विज्ञप्तिमा भन्नुभएको छ – ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’
काँंग्रेस संसदीय दलले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाही गर्न समेत माग गरेको छ ।

बुद्धको मूर्ति कस्ले र किन फोड्यो भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ ।