तिलोत्तमा, १० असोज । शुक्रबार राती परेको बर्षाले रुपन्देहीका विभिन्न स्थानका बस्तीहरु डुबानमा परेका छन् । बर्षा संगै आएको बाढीले जिल्लाका दर्जन बढी घरहरु बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा, बुटवल, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षती पुर्याएको छ । तिलोत्तमा नगरपालिकाको वडा नं ११ को भूपू सैनिक बस्तीमा रोहिणी नदी पसेपछि करिव ५० घर डुवानमा परेका छन् ।
यस्तै तिलोत्तमाका ८, १०, १५ तथा देवदह नगरपालिकाका ९, १० र ३ नं वडामा पनि बाढीले क्षती पुर्याएको छ ।
बाढीले क्षती पुर्याएका देवदह र तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा नेपाली काँग्रेस रुपन्देहीका नेताहरुले अवलोकन गरेका छन् । पार्टीका जिल्ला सभापति अब्दुल रज्जाक, युवा नेता तथा प्रदेशसभाका प्रत्यासी हरि न्यौपाने, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, जिल्ला सदस्य नविन आचार्यलगायत विभिन्न वडाका वडाध्यक्षहरुले बाढी ग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको हो ।
बाढी ग्रस्त क्षेत्रको अवलोकन र बाढी पीडित जनताको गुनासो सुन्दै पार्टीका नेताहरुहरुले समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिदै पीडित जनतालाई उचित राहत र बाढीले घर वगाएका र डुवानमा परेका जनतालाई पुनस्र्थापनाको ब्यवस्था गर्न सरोकारवाला निकायसंग माग गर्नु भएको छ ।
अवलोकनका क्रममा देवदह तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडा डुवानमा परेका, कतिपयका घर गोठ बाढीले वगाएको र कतिपयका पशु चौपाया गोठमै मृत्यु भएको तथा कतिपय वडामा नदी कटानको समेत समस्या रहेको पाईएको युवा नेता हरि न्यौपानेले जानकारी गराउनु भयो ।
बाढीले क्षती पुर्याएका तथा डुवानको समस्यामा परेका जनताले अवलोकनमा गएका पूर्व राज्यमन्त्री समेत रहनुभएका पार्टी सभापति रज्जाक सहितका कांग्रेस नेताहरुलाई तत्काल आफुहरुका समस्या समाधानका लागि सहयोग गर्न र सम्वन्धित निकायमा राहत र पुनस्र्थापनाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जनताको समस्या समाधानका लागि पार्टीको तर्फवाट सक्दो सहयोग गर्ने र सम्वन्धित सरोकावाला निकायमा समेत राहत र पुनस्र्थापनाका लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरिएको तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले वताउनु भयो ।
