बुटवल ८ असोज
स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १४ तमादीका एकै परिवारका ९ जना र कालिगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ ।
वालिङ १४ तमागीमा एकै परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनु भयो । पहिरोमा परि मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।
पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । दीपक, कुलदीप, विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदीपसहित उनका ७ महिने शिशलाई पनि पहिरोले ज्यान लिएको छ । पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ । बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको ज्यान गएको प्रहरीले जनाएको छ ।
