कपिलवस्तु, ७ असोज । कपिलवस्तुको कोइली खोलाले नेपाल विद्युत प्राधिकरणका कर्मचारी सवार जिप खोलाले बगाउंदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
नेपाल विद्युत प्राधिकरणको कपिलवस्तुको गजेहडा स्थित विद्युत वितरण केन्द्रका कर्मचारी सवार बा. १ च. १०८९ नं को बोलेरो जिप बुधवार दिउसो कोईली खोलाले बगाएको हो । सो जिपमा प्राधिकरणका कर्मचारी सहित छ जना सवार रहेका थिए । मंगलवार रातिदेखि परेको अविरल वर्षाका कारण कोइली खोलामा आएको बाढीले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन् ।
नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र गजहेडाको जीप संगै खोलामा बगेका जिपका चालक ३५ वर्षीय माधवप्रसाद पाण्डेको शव फेला परेको र विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र कर्मचारी केशव भाट क्षेत्री वेपत्ता रहेको इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले जनाएको छ । जीप खोलाले बगाएपछि उद्धारमा खटिएको जनपद र शसस्त्र प्रहरीको टोलीले खोलामा डुवेको जिप भित्रबाट चालक पाण्डेको शव वाहिर निकालेका थिए ।
जिप संगै खोलामा बगेका अन्य तिन जना भने पौडी खेलेर बच्न सफल भएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्युतका कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बच्न सफल भएका हुन् । जिपमा सवार दुई जना वेपत्ताहरुको खोजीका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको प्रहरीले जनाएको छ ।
यसैविच कपिलवस्तुको कोइली खोलाले बगाएको जिप भने भेटिएको छ । दुर्घटना पश्चात उद्धारमा खटिएका जनपद, शसस्त्र र नेपाली सेनाको टोलीले जीपलाई भने खोलाबाट बाहिर निकालेका छन् ।
