ँबुटवल ३० भदौ
भारतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २ हजार रेमडेसिभिर औषधि सहयोग गरेको छ ।
उक्त औषधी भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको हो । कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ ।
यसअघि १० वैशाखमा प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, ४ जेष्ठमा कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर ) र २५ श्रावणमा आईसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको थियो ।
दूतावासले निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको जनाएको छ ।