बुटवल २९ भदौ
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कोरोना संक्रमणमुक्त भएका आफ्ना कर्मचारी तथा अस्पतालका स्वास्थ्यकर्मीहरुलाई स्वागत गरि सेवामा लगाएको छ ।
दुईसाता अघि कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि आईसोलेसनमा बसेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमणमुक्त भएपछि नियमित काममा फर्किएका हुन् ।
कोरोना संक्रमणमुक्त भएपनि उनिहरुको थप स्वास्थ्यलाभको कामना गर्दै र कामप्रति हौसला प्रदान होस् भनी खादा र टिका लगाएर अस्पतालमा स्वागत गरिएको हो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलम, निर्देशक डाक्टर समिर गौतम, अस्पतालका सचिव दिनेशराज रेग्मी,मृगौलारोग बिशेषज्ञ डा.रजत कायस्थ मुटुरोग विशेषज्ञ डा.मजहर खान प्रमुख प्रशासकिय अधिकृत कमल भण्डारीलगायतले स्वागत गर्नुभएको थियो ।
अध्यक्ष आलमले अस्पतालका ४६ जना स्वास्थ्यकर्मी र कर्मचारीमध्ये ३२ जना कोरोनामुक्त भई नियमित सेवामा फर्किएको जानकारी दिनुभयो । बांकि रहेका १४ जना स्वास्थ्यकर्मी र कर्मचारीपनि छिट्टै संक्रमणमुक्त भएर नियमित सेवामा फर्किईने उहांले बताउनुभयो । बाकी १४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
संक्रमणमुक्त भएका स्वास्थ्यकर्मीहरु मंगलबारदेखि नै अस्पतालको नियमित सेवामा खटिने छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि एकसाता अस्पतालको डायलाईसिस, सिटीस्क्यान र फार्मेसी बाहेक अरु सेवाहरु बन्द गरि अस्पताललाई निर्मलीकरण गरिएको थियो ।
अधिकांश मुटु, मिर्गौला, दम लगायतका दिर्घरोगीहरुको उपचार हुने यस अस्पतालको सेवा अवरुद्ध हुंदा ईमरजेन्सी अवस्थाका विरामीहरुको उपचारमा समेत समस्या भएको थियो ।
अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले अस्पतालमा आउने जो कोही विरामीपनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको हुनसक्ने भएकोले सोहि अनुसार सावधानीपुर्वक उपचार भईरहेको बताउनुभयो ।