बुटवल, २० भदौ । बुटवल उपमहानगरपालिकाले डायलिसिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । डायलिसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि पीसीआर परीक्षणले उपचारमा थप सहजता हुने भएको छ ।
मानिसको मृगौलाले काम गर्न छोडेपछि विशेष मेशिनको सहायताले शरीरमा रहेका विकारलाई निकालेर फाल्ने कामलाई डायलिसिस भनिन्छ । यस्तो अवस्थामा मानिसले के मृगौला प्रत्यारोपण गर्नुपर्छ के बाँचुन्जेल सातामा कम्तीमा दुईपटक डायलिसिस गर्नुपर्दछ । सरकारले डाइलिसिस सेवालाई निशुल्क बनाएको छ ।
बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलिसिसका सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागिएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी गराउनुभयो ।
विरामीलाई पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्न नसक्ने अवस्थाका विरामीलाई बसेको स्थानमै पुगेर परीक्षण गर्नेगरि काम सुरु भएको प्रमुख सुवेदीले बताउनुभयो । प्रमुख सुवेदीका अनुसार अस्पतालहरुमा डायलिसिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै विरामीको निशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ । पीसीआर परीक्षणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने ब्यवस्था गरिएको छ ।
यस्तै बुटवलले कोभिडजन्य कामका सिफारिसलाई समेत सहज र निःशुल्क बनाएको छ । बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलिसिल गर्ने बिरामीको संख्या करिब छ सय रहेको बताइएको छ । अहिले महामारीको बेलामा यी सबै विरामीको नियमित डायलिसिल अघि डेढ महिनामा दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
बुटवल उपमहानगरले बन्दाबन्दीले आउजाउमा समस्या परेका दीर्घ रोगीलाई घरमै समेत पुगेर अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपांगता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ । यसैगरी नगर प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्यलगायतका जनप्रतिनिधि स्वास्थ्य प्राविधिकसहित संक्रमितको मनोबल बढाउन संक्रमितहरुको घरघरमा पुग्नुभएको छ । यसले गर्दा संक्रमितहरुमा थप हौसला र आत्मवल बढाएको प्रमुख सुवेदीले बताउनु भयो ।
कोभिड संक्रमण भएर आइसोलेशनमा बसेकालाई घरघरमै पुगेर आयुर्वेद ओखती वितरण गर्नेक्रममा डायलिसिसका विरामीका बारेमा सूचना पाउँदासाथ उपमहानगरले सबैको निःशुल्क परीक्षण गर्ने निर्णय गर्दै सबै वडामा तत्कालै निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
बुटवलमा आइसोलेशन सेन्टर निर्माण, प्रादेशिक अस्पतालको सहकार्यमा आइसीयू र भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल निर्माण गर्नेदेखि आइसोलेशन सेन्टरहरुमा नियमित योगा अभ्यास, ध्यान प्रणायम र आयुर्वेद ओखती वितरणका काम भइरहेका छन् ।
डायलिसिस गराउनेमा सबैभन्दा धेरै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पतालमा आउने विरामी छन् । त्यहाँमात्रै करिब तीन सय जनाको नियमित डायलिसिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो । अध्यक्ष आलमका अनुसार यो संख्या अहिले मुलुकका कुनै पनि डायलिसिस सेन्टरको भन्दा धेरै हो ।
उक्त अस्पतालले बन्दाबन्दीको समयमा अरु उपचार सेवा सबैतिर प्रभावित हुँदासमेत यसखालको उपचारलाई चौबिसै घण्टा सूचारु राखेको थियो । अहिले अस्पतालमा केही स्वास्थ्यकर्मी र केही कर्मचारीमा समेत संक्रमण देखिएको छ । तर, अस्पतालले सबै व्यवस्थापन गर्ने, निसंक्रामक बनाउने काम गरिसकेको छ ।
अहिले बुटवल उपमहानगरले निशुल्क पीसीआर गर्ने सूचना जारी गरेपछि गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सिद्धार्थनगर सिटी अस्पताल बुटवलमा डायलिसिस गराउँदै आएका विरामीको सिफारिस आएको उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखाका प्रमुख मित्रमणि खनालले बताउनुभयो ।
चिकित्सकका अनुसार एकपटकको डायलिसिसमा चार घन्टासम्म समय लाग्छ । एउटा मेशिन तीन सिफ्टमा चल्दा दैनिक त्यसबाट तीनजनाको डायलिसिस सम्भव छ । स्वास्थ्य मन्त्रालयको हालैको तथ्यांक अनुसार निशुल्क डायलिसिसका लागि देशभर पाँच सय २१ वटा मेशिन चालु अवस्थामा छन् भने यीमध्ये आधाभन्दा धेरै काठमाण्डौमै छन् ।