बुटवल, १९ भदौ । बुटवल उद्योग बाणिज्य संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले शुक्रबार बुटवलको वडा नं. ६ का अतिविपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको समितिका सभापति अब्दुल सलामदले जानकारी गराउनु भयो ।
कोरोना भाईरसको महामारी र कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण खाद्य समस्यामा परेका दैनिक ज्याला मजदुरी गरि खाने अति बिपन्न परिवारलाई प्रति परिवार ५ किलो चालम, एक किलो दाल, सोयाविन, नुन र १ लिटर तेल प्रदान गरिएको समितिका उपाध्यक्ष अलिम दिनले बताउनु भयो ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत ११ गतेदेखि देशब्यापी रुपमा गरेको लकडाउन झण्डै ४ महिना पछि अन्त्य गरिएपनि त्यसयता समुदायस्तरमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन तथा स्थानीय सरकारले गरेको लकडाउनका कारण विपन्न परिवारलाई साँझ बिहान हातमुख जोड्न समेत धौ धौ परेकाले समितिले उनीहरुको राहतकालागि खाद्य सामाग्री प्रदान गरेको हो ।
खाद्य सामाग्री वितरण कार्यक्रममा वडा अध्यक्ष जगदिश आचार्यले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेर उद्योग वाणिज्य संघ बुटवल मातहत रहेका वस्तुगत उपसमितिहरुले सामाजिक उत्तरदायित्व वहन गरेको वताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुले कोरोना भाईरस महामारीका कारण करिव ६ महिना उद्योग व्यापार व्यबसाय ठप्प भएको र उद्योगी व्यबसायी धरासायी भएको वेलामा पनि संघको बस्तुगत समितिले अति विपन्न परिवारलाई राहत प्रदान गर्ने काम सामान्य नभएको बताउनु भयो । हुनेले नहुनेलाई सहयोग गर्नु नै मानवीय धर्म रहेको बताउँदै यो राहत वितरण पनि त्यसैको उदाहरण भएको उहांले बताउनु भयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य दिनेश श्रेष्ठ, मुक्ति अधिकारीलगायतले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन समितिका सचिव प्रकाश पौडेलले गर्नुभएको थियो ।
