बुटवल १८ भदौ
प्रदेश ५ सरकारले प्रदेशमा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी वनाउन प्रदेशमा रहेका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तार गर्न कर्मचारी दरबन्दी र बजेट स्वीकृत गरेको छ ।
बिहिबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तारका लागि ५ सय ८३ जना थप जनशक्ति भर्ना गर्न ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेको हो ।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाका लागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्न वजेट स्वीकृत गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनु भयो ।
ती कर्मचारीलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिइने जनाइएको छ ।
वैठकले लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । सो अस्पतालमा आईसीयू बेड १८, एचडी (मिनी आईसीयू) बेड २०, आइसोलेन बेड ३६ गरी ७४ बेड रहनेछन ।
भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति स्वीकृत गरिएको छ । भीम अस्पतालमा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ बेड र बेलझुण्डीमा आईसीयू १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहनेछन ।
त्यस्तै भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति राख्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले जानकारी दिनु भयो । यो अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहनेछन ।
मन्त्री परिषदले स्वीकृत गरेको ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ वजेटमध्ये लुम्बिनी प्रादेशिक बुटवलका लागि एक करोड ७५ लाख ११ हजार ९ सय, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय, केन्द्रीय आयुर्वेद बेलझुण्डीका लागि एक करोड ५६ लाख ७२ हजार ३ सय र भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको प्रवक्ता चौधरीले जानकारी दिनु भयो ।
मन्त्रीपरिषद वैठकले प्रदेश निजामती सेवा अन्तर्गतका पदमा इञ्जिनियरिङतर्फका ५३ र स्वास्थ्य सेवातर्फका ७२ जना कर्मचारी गरि एक सय २५ कर्मचारी खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ ।इञ्जिनियरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल ५, सिञ्चाई ८, सेनेटरी १ विल्डिङ आर्किटेक्चर १३, मेकानिकल ५, इञ्जिनियर सिभिल २, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जना दरबन्दी रहेका छन् ।
स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जनाको दरबन्दी स्वीकृत भएको छ ।
यस्तै प्रदेश ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकिकरण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि वैठकले गरेको छ ।बैठकले प्रदेश नम्बर ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकिकरण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ भने भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत पनि गरेको छ ।
त्यस्तै विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न बैठकले स्वीकृति प्रदान गरेको छ । प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि वैठकले गरेको जनाएको छ ।