बुटवल, ११ भदौ
बुटवलको कोरोना विशेष आईसोलेसन अस्पतालमा उपचार गराई रहेका कपिलवस्तुका संक्रमितको मृत्यु भएको छ ।
कोरोना बिशेष अस्पतालको सघन उपचार कक्ष (आईसियु)मा भेन्टिलेटरको सहायतामा उपचार भई रहेका उनको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० बर्षिय पुरुषको बुवार राती १० वजेर ५५ मिनेट जादाँ उपचारकै क्रममा मृत्यु भएकोे थापाले बताउनु भयो । थापाका अनुसार उनमा लामो समय देखि उच्च रक्तचाप, मधुमेहको समस्या थियो । मिगौलाका समस्या समेत रहेका उनको लामो समयदेखि मृगौलाको डायलाईसिस भई रहेको थियो ।
उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि आईसोलेसन अस्पतालमा राखिएको थियो । उपचारको क्रममा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो ।
यो सगै बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि कपिलवस्तुका दुई र रुपन्देहीका दुई गरि चारजना कोरोना संक्रमितको मृत्यु भएको थियो । उक्त अस्पतालमा अहिले ३४ जना कोरोना संक्रमितको उपचार भईरहेको डाक्टर थापाले बताउनु भयो ।
संक्रमीत मध्ये १६ जनालाई सघन उपचार कक्ष (आईसियु) मा राखिएको छ भने १८ जनाको आईसोलेसनमा राखी उपचार भईरहेको छ । आईसियुमा रहेका दुई महिला सहित चारजनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको भेन्टिलेटरको सहयोगमा उपचार भईरहेको बताइएको छ ।
भेन्टिलेटरको सहायतामा उपचार गराई रहेका सबै बुटवलका रहेको र उनिहरुमा उच्च रक्तचाप, मधुमेह र मृगौलामा समेत समस्या रहेको डाक्टर थापाले बताउनु भयो ।