बुटवल, ३० साउन । स्याङ्जा पिडिखोला–रुपन्देही सम्पर्क समाजले शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । समाजको तेस्रो वार्षिकोत्सवको अवसर पारेर रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा ६० जनाले रक्रदान गरेको कार्यक्रम संयोजक तथा संस्थाका सदस्य जयप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर संस्थाबाट रक्तदान कार्यक्रम गरिएको र कोरोना भाईरस महामारीको समयमा हुने रगतको अभाव पूर्तिमा सहयोग पुग्ने समाजका अध्यक्ष लिलाधर पौडेलले बताउनु भयो । बुटवलमा समुदाय स्तरमा कोरोना भाईरस संक्रमण बढ्दैगएपछि नगरपालिकाले शुक्रबार देखिनै लकडाउन लागु गरेको छ भने सामाजिक दुरी कायम गरेर कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।
रक्तदान कार्यक्रममा सहभागिलाई मास्क तथा सेनिटाईजर समेत वितरण गरिएको थियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक नुमाकान्त चापागाईले मास्क तथा सेनिटाईजर सहयोग गर्नुभएको थियो भने सदस्य भविश्वर चापागाईले रक्तदातालाई नास्ता तथा जुस सहयोग गर्नुभएको थियो ।
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणले महामारीको रुपमा फैलिरहेका बेला हुने रगतको अभाव कम गर्नकालागि पनि रक्तदान कार्यक्रमले सहयोग हुने भएकाले लकडाउनका बिचमा पनि संस्थाको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको सल्लाहकार संयोजक चापागाईले बताउनु भयो ।
संस्थाका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, संस्थाका सल्लाहकारहरु कमलराज भुसाल, घनश्याम चापागाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।