काठमाण्डौ, १५ साउन । गृह मन्त्रालयले आज (साउन १५) बाट लागु हुने गरी प्रत्येक दिन साँझ ७ बजे देखि बिहान ७ बजे सम्म काठमाण्डौ उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरेको छ ।
गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी द्वारा आज जारी विज्ञप्तिमा अत्यावश्यक सेवा र ढुवानी बाहेक अर्को आदेश नभएसम्मका लागि प्रत्येक दिन साँझ ७ बजे देखि विहान ७ बजे सम्म काठमाण्डौ उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको उल्लेख छ ।
काठमाण्डौ उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एबं विना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
देशका विभिन्न स्थानबाट काठमाण्डौ आउने यात्रुहरुको काठमाण्डौ उपत्यका प्रवेश नाकामा कोभिड–१९ सम्वन्धि चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोभिड–१९ पोजिटिभ पाईएकोले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यक ब्यवस्था हुन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
