बुटवल, १५ साउन । रुपन्देहीको सैनामैनामा संचालित नीजि तथा संस्थागत बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको संगठनले १२ बुंदे माग सहितको ज्ञापन पत्र सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्की समक्ष बुझाएको छ । नीजि तथा संस्थागत बिद्यालय शिक्षक युनियनका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाउंदै आफुहरु पीडित भएको र बिद्यालय संचालकहरुले महामारीको समयमा कुनै सम्बोधन नगरेको गुनासो गरेका छन् ।
शिक्षक कर्मचारीहरुले हालसम्म खाईपाई आएको सेवा सुबिधा बिनाशर्त तत्काल उपलब्ध गराउनु पर्ने, शिक्षक तथा कर्माचारीको कोरोना तथा बिपत बिमा गर्नु पर्ने, सामाजिक सुरक्षा कोषको यथाशिघ्र कार्यान्वयन गरी थप १ महिनाको चाडपर्व रकम उपलब्ध गराउनु पर्ने, नियुक्ति पत्र उपलब्ध गराउनु पर्ने लगायतका १२ बुंदे माग बिद्यालयहरुसंग गरेका छन् । आफ्ना मागहरु पुरा नभएको खण्डमा चरणबद्ध आन्दोलनमा जाने उनीहरुले बताएका छन् । ज्ञापन पत्र बुझ्दै सैनामैना नगरपालिकाका मेयर कार्कीले शिक्षक तथा कर्मचारीहरुमा पर्न गएको असुबिधा प्रति आफु गम्भिर रहेको बताउनु भयो । शिक्षकहरुका समस्याको समाधानका लागि यथाशिघ्र नीजि बिद्यालयका संचालकहरुको छाता संगठनका पदाधिकारी संग छलफल गरी समाधान खोज्ने प्रयास गर्ने बताउनु भयो ।
नीजि बिद्यालय संचालकहरुको छाता संगठन सिसौ सैनामैनाका अध्यक्ष कृष्ण शर्माले शिक्षक र बिद्यालयको सम्बन्ध नङ र मासुको जस्तै भएकोले सबै मिलेर जानु पर्नेमा जोड दिनु भएको छ । एकलाई चोट पर्दा पिडा अर्कोले पनि महसुस गर्नु पर्ने बताउदै अध्यक्ष शर्माले शिक्षकहरुको मागलाई धेरै भन्दा धेरै सम्बोधन गर्ने प्रयत्न गरिने बताउनु भयो ।
कर्मचारी यूनियनका कमल पौडेलले नीजि तथा संस्थागत बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको हकहितका लागि संगठन खोलिएको बताउनु भयो । कुनै बिद्यालयमा शिक्षक तथा कर्माचारी माथि संचालकहरुले अन्याय गरेको खण्डमा संगठनमा लिखित जानकारी गराउन समेत आग्रह गर्नु भयो ।
शिक्षकहरुको माग प्रति बिद्यालय संचालकहरु गम्भिर हुन जरुरी रहेको प्याब्सन प्रदेश नं ५ का अध्यक्ष लेखनाथ पौडेलले बताउनु भयो । बिद्यालय संचालक र शिक्षक कर्माचारी सबैको जित हुने किसिमले मध्यमार्गी वाटोखोजेर जानु पर्ने समेत अध्यक्ष पौडेलले बताउनु भयो ।
