कृषि प्रोत्साहन कार्यक्रम अन्तर्गत ६० जनालाई नगद अनुदान प्रदान
बुटवल, २४ असार । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणकालागि गरिएको बन्दावन्दी र यसका कारण समस्यामा परेका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । किसान लक्षित कार्यक्रम अन्तर्गत कोभिड–१९ बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गरेर कृषि पेशामा लागिराख्न प्रोत्साहन गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउने उद्देश्यले उपमहानगरले कृषिमा समर्पित किसानहरुलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्रदान गरेको हो ।
नगरपालिकाले घोषणा गरेको कृषि प्रोत्साहन कार्यक्रम अन्तर्गत ५८ जना किसान र दुई वटा सहकारी समूह सहित ६० जनालाई नगद अनुदान प्रदान गरिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । मंगलबार बुटवल उपमहानगरापलिकामा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मालागयतले छनौट भएका किसानहरुलाई प्रोत्साहन स्वरुप चेक प्रदान गर्नुभएको हो ।
किसानहरुलाई प्रोत्साहन रकमको चेक हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले किसानहरुलाई कुनै पनि प्रकृतिले प्रभावित हुन नदिनको लागि नगरपालिकाले आफ्नो योजना अनुसार आर्थिक सहयोग गरेको बताउनु भयो । नगरपालिका किसानहरुको साथमा रहेको र नरपालिका सधै किसानको सहयोगी भूमिकामा रहने भन्दै नगरप्रमुख सुवेदीले कृषि पेशालाई आकर्षक बनाउन बुटवलले दीर्घकालीन महत्वका किसान लक्षित कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कोभिड–१९ विशेष कृषि कार्यक्रम (विदेश बाट फर्केका र व्यवसाय उन्मूख कृषकहरुलाई कृषि विकास प्रोत्साहन कार्यक्रम) तर्फ छनौट भएका कृषक, कृषक समूह तथा संस्थाहरुलाई स्वीकृत कार्यक्रम अनुसार प्रोत्साहन अनुदान रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।
बुटवल उपमहानरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार छनौट भएका किसानहरुलाई कार्य प्रगति अनुसार १५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँ र समूह सहकारीहरुलाई १ लाख र १ लाख ४० हजार सम्म नगद अनुदान प्रदान गरिएको छ । उहांका अनुसार बुटवल उपमहानगरपालिकाले कुल ११ लाख ४० हजार रुपैयाँ आर्थिक अनुदान प्रदान गरेको छ । जसअन्तर्गत सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमेटेडलाई नगद क्रमसः एक लाख ४० हजार र एक लाख रुपैयाँ प्रदान गरिएको छ ।
बुटवलका यी दुई सहकारीको सहकार्यमा बुटवलले किसानलाई फसल धितो राखेर अनुदान दिंदै आएको छ । फसल धितो राखेर अनुदान दिने स्थानीय तहमा बुटवल पहिलो हो । सहकारीहरुले धान खेतीका लागि बोरासहितको छपाई मेसिन र सीड ड्रिल मेसिन खरिदको लागि अनुदान प्रदान गर्दै आएका छन् ।

सहकारीहरुलाई कोभिड–१९ विशेष कषि कार्यक्रम (वाली उत्पादन र उत्पादकत्व बृद्धि) का लागि बीऊ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम अन्र्तगत प्रोत्साहन अनुदान रकम प्रदान गरिएको कृषि विकास शाखा प्रमुख जिसीले जानकारी गराउनु भयो ।
नगरपालिकाले स्पेयर, जैविक मल, मल्चिङ्ख, थोपा सिंचाई, प्लाष्टिक नर्सरी घर स्थापना, ग्रिननेट, स्पेयर, टनेल, बीउविजन, जैविक र रासायनिक मल, कालो रोल प्लाष्टिक, टाली, पराल, मिनिटिलर, सुपर, आधार चाका, दाना खुवाउने मेसिन, फ्रेम, पोल, तार, स्थायी फलामे खम्बा, सिमेन्ट, स्पेयर, स्थायी थाक्रा, स्पेयरको लागि आवश्यक पर्ने सामानलगायतका कार्यको लागि किसानहरुलाई सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।