बुटवल, १४ असार । कार दुर्घटनामा परी पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ । न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पाण्डेको शनिबारराति रुपन्देहीको तिलोत्तममा आफैले चलाएको बा ७ च ६९५९ को कार दुर्घटनामा परी मृत्यु भएको हो ।
बुटवलबाट तिलोत्तमा–६ स्थित आफ्नो घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा राति करिव पौने १२ बजेतिर कार दुर्घटनामा परेको हो । सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले जानकारी गराउनु भयो ।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका पाण्डेलाई बुटवलको कालिकानगर स्थित चौराहा हस्पिटल प्रा.लि.मा उपचारका लागि लगिए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्रहरीका अनुसार कारमा पाण्डे एक्लै सवार थिए । सडकको डिभाइडरमा ठोक्किएको कार काम नलाग्ने गरी क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
लुम्विनी प्रादेशिक अस्पताल बुटवलको शव गृहमा राखिएको स्वर्गीय पाण्डेको शव आईतबार (आज) बिहान पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि पाण्डेको जन्मस्थान स्याङ्जाको विर्घा लगिएको छ ।
पाण्डे आफ्नी श्रीमती सहित रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित आफ्नै घरमा बस्दै आएका थिए ।
स्थानीय स्तरमा पावर न्यूज नामक अनलाइन पत्रिका सञ्चालन गर्दै आएका पाण्डे पत्रकारितामा आउनुअघि म्युजिक भिडियोमा अभिनय र संगीत कर्ममा सक्रिय थिए ।
पत्रकार पाण्डेको निधन प्रति दुःख ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही, नेपाल प्रेस युनियन रुपन्देही, तिलोत्तमा मिडिया क्लव, लुम्विनी प्रेस क्लव लगायतका संस्थाले विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा पत्रकार पाण्डेको ३० बर्षको उमेरमा भएको निधनले पत्रकारिता क्षेत्रले असल, कर्मठ र निष्ठावान ब्यक्ति गुमाएको उल्लेख गरिएको छ । शोकको यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन ब्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समबेदना ब्यक्त गरिएको छ ।



