काठमाडौँ, असार ३० गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
उहाँले सोमवार एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्नुभएको हो । साथै उहाँले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढङ्गले गरिरहेको छ, त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले काङ्ग्रेसले गर्नेसमेत जानकारी पनि गराउनुभएको छ ।
केही दिनयता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति यसअघि काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले यही असार २७ गते दुःख व्यक्त गरेको थियो ।‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्णरूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँ । विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो’, विज्ञप्तिमा उल्लेख छ ।
सभापति देउवाले वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने छ दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । रासस