भैरहवा, ३१ जेठ । नेपाली काँग्रेस रुपन्देहीले देशमा विद्यमान समसामयिक समस्याहरुको बारेमा आगामी असार २ गते सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारीहरुको शनिबार बसेको बैठकले नेपाली जनता कोरोना महामारीले प्रताडित भईरहेको सन्दर्भमा सरकारले यसको असरलाई न्यूनिकरण गर्न नसकेको र जनता प्रति अनुत्तरदायी बनेको आरोप लगाएको छ । हरेक पक्षमा अनियमितता र भ्रष्ट्राचारमा सरकार चुर्लुम्म डुबेको अवस्थामा बिरोध स्वरुप सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताउनु भयो ।
सभापति रज्जाकका अनुसार नेपाली काँग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार प्रत्येक जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाईने छ ।
असार २ गते बिहान ११ बजे पार्टी कार्यालयमा जम्मा भई सामाजिक दुरी कायम राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाईने कार्यक्रम रहेको पार्टी सचिव रामकृष्ण खाँणले जानकारी गराउनु भयो । यसका लागि पार्टीले पार्टीमा आवद्ध सबै तह, भातृ संगठन र शुभेच्छुक संघ संस्था सबैलाई आह्वान गरेको छ ।
बैठकले अहिले सरकारले कृषकहरुको न्यूनतम माग पनि पुरा नगरेकोमा असन्तोष प्रकट गर्दै किसानका आधारभूत आवश्यकता मलखाद, बिउ, विजन, औषधी लगायतको आपूर्तिमा सरकार जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको छ । मुलुकलाई कृषिमा अत्मनिर्भर बनाउन र युवाहरुलाई कृषि प्रति उत्प्रेरित गर्ने गरि कार्यक्रम ल्याई आवश्यक कृषि सामाग्री समयमै उपलब्ध गराउन पनि पार्टीले माग गरेको छ ।
यसैगरि नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री दुर्योधन सिंह चौधरी र नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीका बुवा ईश्वरी प्रसाद भण्डारीको निधन प्रति दुःख ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

