बुटवल, २९ गते । कोभिड १९ (कोरना भाइरस) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी बुटवलमा पनि बितरण शुरु गरिएको छ । यो रोग प्रतिरोधात्मक औषधि हो । अन्य रोगसंगै कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सक्ने यो औषधीलाई नेपाल सरकारले प्रोटोकलमा राखेको छ ।
बुधबार बेलुका बुटवलको कालिकानगरबाट कालिका कल्याणकारी समाजले औषधी निःशुल्क बितरण शुरु गरेको हो । पहिलो चरणमा कालिकानगर क्षेत्रका दुई हजार मानिसलाई औषधि बितरण गरिएको समाजका सचिव दिनेश कुमार कुँवरले जानकारी दिनुभयो । कुँवरका अनुसार बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको प्रायोजनमा औषधि निःशुल्क बितरण गरिएको हो ।
औषधि वितरण कार्यक्रममा बोल्दै कालिका कल्याणकारी समाजका अध्यक्ष एवं ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिका संचालक माधव थापाले प्रदेश नं. ५ का करिव एक लाख मानिसलाई यो औषधि निःशुल्क वितरण गरेर सहयोग गर्ने उद्देश्य आफूहरुले लिएको बताउनु भयो । कोरोना महामारीको अवस्था थप जटिल हुन नदिन यो औषधि उपयोगी हुने र यसले रोग प्रतिरोधी क्षमता बृद्धि गर्ने भएकाले अन्य रोग समेत लाग्न नदिन औषधिले काम गर्ने विश्वास गरिएको छ ।
यो औषधि खासगरी भारतमा उत्पादन हुने गरेको र नेपालमा पनि होमियोप्याथिक अस्पतालहरुले भारतबाट कच्चापद्धार्थ ल्याई उत्पादन गर्ने गरेको पाइन्छ । विश्वका १ सय ८० देशले यो औषधि प्रयोग गर्ने गरेको चिकित्सकहरुले बताएका छन् । सन्. १९१८ मा भएको स्पेनी फ्लुमा पनि यस्तै प्रकारको होमियोप्याथिक औषधि विभिन्न देशमा खुवाइएको थियो । त्यतिबेला यो औषधि सेवन गर्नेमध्ये जम्मा एक प्रतिशत मानिसमात्र उक्त फ्लुबाट मरेका बताइन्छ ।
यसैबीच उक्त औषधि लिन चाहने क्रियाशील पत्रकारहरुको लागि नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं. ५ समितिले बितरण गर्ने भएको छ । ओम कालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा महासंघले आफ्ना सदस्यहरु तथा अन्य इच्छुक पत्रकारहरुलाई निःशुल्क औषधी बितरण गर्ने महासंघ प्रदेश ५ समिति महासचिव कपिल ज्ञवालीले बताउनु भयो । यो औषधीमा कोरोना लगायतका अन्य रोग लाग्न नदिने रोग प्रतिरोधात्मक क्षमता बढाउने क्षमता रहेको चिकित्सकहरुले दाबी गरेका छन् । यो औषधी देशका विभिन्न ठाउँमा मारवाडी सेवा समितिले बितरण गरिरहेको छ ।
