तिलोत्तमा, २६ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत् शँकरनगर सामुदायिक वन क्षेत्रमा रहेको शँकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।
स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । आइसोलेसन सेन्टरमा एक जना चिकित्सक, एक जना नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका छन् ।
बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकाहरुलाई सोही आइसोलेसनमा राख्न थालिएको छ । यहाँ सोमबारसम्म आरडिटी पोजेटिभ देखिए पनि पिसिआरको नतिजा आइनसकेका समेत गरी १४ जना रहेको आइसोलेशन ईञ्चार्ज केशव भट्टराईले जानकारी गराउनु भयो । बीस बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको आइसोलेशन ईञ्चार्ज भट्टराईको भनाइ छ ।
सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका संक्रमित तथा सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ । सेन्टरमा २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको चिकित्सक संजोग पाठकले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकाले आइसोलेसनको लागि आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ ।
नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकाश गरेर लैजाने गरी पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्तर्गत् शँकरनगर र कोटिहवामा क्वारेन्टाइन सञ्चालन गरिरहेको छ ।