नैराश्यता तथा डिप्रेसन हटाउने खालका गीत रचना गर्न नगर प्रमुख सुवेदीको आग्रह
बुटवल, २४ जेठ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल प्रदेश नं. ५ ले २०७७ सालको भित्ते पात्रो प्रकाशन गरेको छ । भित्ते पात्रोको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शनिवार विमोचन गर्नुभयो ।
भित्ते पात्रोको विमोचन गर्दै प्रमुख सुवेदीले लामो समयको लकडाउनको असरले जनमानसमा नैराश्यता र डिप्रेसन जस्ता रोगहरु देखापर्न थालेको भन्दै यस्तो अवस्थामा यस्ता समस्यालाई निराकरण गर्ने खालका गीत संगितको रचना गर्न कलाकारहरुलाई आग्रह गर्नु भयो । पछिल्लो समयमा नैराश्यता र डिप्रेसनले गर्दा समाजमा आत्महत्याका घटनामा समेत बृद्धि भएकाले यस्ता खालका घटनालाई रोक्न र देशको विषम परिस्थितिलाई मनन गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालका गीत संगित रचना गर्नु कलाकारको धर्म र दायित्व समेत भएकाले अहिलेको परिवेशमा सबै कलाकारहरुको ध्यान यसतर्फ केन्द्रित गर्न प्रमुख सुवेदीले आग्रह गर्नुभयो ।
राष्ट्रको गहनाका रुपमा रहेको कला संस्कृतिको जगेर्ना र संरक्षणका लागि स्थानीय सरकारको हैसियतले बुटवल उपमहानगरपालिकाले कला, साहित्यको संरक्षण, संवद्र्धन र उत्थानका लागि कला साहित्य परिषदको गठन गरेको वताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपालका केन्द्रिय सल्लाहाकार खिमबहादुर हमालले लकडाउनका कारण जनजीवन प्रभावित बनिरहेको अवस्थामा लोक दोहोरी कलाकारहरुको जागरुक्ता, क्रियाशिलता र सक्रियताले आम जनसमुदायलाई उत्प्रेरणा प्रदान गरेको बताउंदै बन्दाबन्दीका कारण घर कोठामा वस्न बाध्य नेपाली नागरिकलाई गीत संगितको माध्यमवाट मनोरन्जन र आत्मवल वढाउने दायित्व पनि कलाकारहरुको काँधमा आएको बताउनु भयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रदेश नं. ५ का अध्यक्ष डिल्लीनारायण पाण्डेले कला संस्कृति राष्ट्रको गहना भएको र यसको संरक्षणका निम्ति कलाकारहरु निस्वार्थ भावनाका साथ निरन्तर लागिपरेको बताउनु भयो । उहांले कलाकारहरुको अभियानमा स्थानीय सरकारले सघाउनुपर्ने आवश्यक्ता औंल्याउदै कला संस्कृतिको जगेर्ना र संरक्षण गर्नु सरकारको दायित्व भएकाले कला संस्कृतिको क्षेत्रमा उलेख्य बजेट विनियोजन गर्न नगर प्रमुख सुवेदीलाई आग्रह गर्नुभयो ।

भित्तेपात्रो विमोचन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका केन्द्रिय सचिव प्रचण्ड जि.सी., जिफन्टका केन्द्रिय नेता नारायण भट्टराई, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रदेश नं.५ का बरिष्ठ उपाध्यक्ष नारायण थापा, प्रथम उपाध्यक्ष दिपु मगर, द्वितीय उपाध्यक्ष नारायण विपि परियार, सदस्यहरु रुकु पाण्डे, धन बहादुर गुरुङ, लक्ष्मण सुवेदी, दुर्गा नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल, रुपन्देहीका अध्यक्ष दीपक कार्की, कोषाध्यक्ष संजय सौगात लगायतले बोल्दै जस्तो सुकै परिस्थितिमा पनि कलाकारहरु जनताको सुख दुःखको साथीको रुपमा सहभागि हुंदै आएको बताउनु भयो ।