संक्रमित महिला रुपन्देहीकी, १० दिन देवचुली बसेर काठमाडौं गएको खुलासा
रामकुमार श्रेष्ठ
नवलपरासी, ७ जेठ । मंगलबार कोरोना संक्रमण भेटिएकी देवचुली नगरपालिका २ माइत भएकी महिलाको घर रुपन्देही भएको खुलेको छ । उनी बैशाख १९ गते श्रीमानसँगै मोटरसाइकलमा देवचुली २ सिजी नजिकै माइत आएर बसेकी थिइन् । उनी १० दिन माइत बसेर बैशाख २९ गते श्रीमानसँगै काठमाडौं गएको खुल्न आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार २४ बर्षीय ति महिलासँगै यात्रा गरेका श्रीमान्को भने रिपोर्ट नेगेटिभ आएको छ ।
उनी १० दिन माइत बसेकोले अहिले माइतीघर र सो गाउँ बुधबार शिल गरेर माइतीको स्वाब संकलन गर्ने कार्य शुरु गरिदै छ । उनको माइती र उनको गाउँमा अहिले आउजाउ बन्द गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईले बताउनु भयो ।
रुपन्देहीको कोटिहवा घर भएकी ति महिलाको माइती घरमा सम्पर्कमा आएका सबैको पहिचान गरी बुधबार नै स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइने तयारी भएको चापागाईले बताउनु भयो । चापागाईका अनुसार उनको माइतीमा कसैलाई पोजेटिभ देखिए गाउँ नै शिल गरेर थप परीक्षण गरिने छ भने कसैमा पनि संक्रमण नदेखिए माइती घरका कसैलाई पनि दुई हप्तासम्म घरबाट बाहिर निस्कन दिइने छैन ।
देवचुली २ माइत भएकी ति महिलाको माइती घरका १० जनाको बुधबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाइदै छ ।
देवचुली नगरपालिकाका उपप्रमुख पार्वती तिवारीका अनुसार ति महिलाको माइती पक्षले सिजी अगाडि होटेल र खाद्यान्न पसल समेत सञ्चालन गर्दै आएको र ति महिला पनि होटेल र खाद्यान्न पसलमा बसेर माइती पक्षलाई सघाएकोले चौधरी उद्योग (सिजी) का मजदुरहरुमा पनि कोरोनाको संक्रमण रहेको आशंका गरिएको छ ।
चौधरी उद्योग लकडाउनका बेला केही समय सञ्चालनमा आएको थियो । ति होटल र पसलमा चौधरीका मजदुरहरु आउजाउ गर्ने भएकोले संक्रमणको खतरा देखिएको हो ।
चौधरी उद्योगमा आवश्यकता भन्दा बढी मजदुर राखिएको, सामाजिक दुरी कायम नगरिएको, भारतबाट ट्रकमा आउने चालक र सहचालकहरुसँग मजदुरहरुको सोझै सम्पर्क हुने लगायतका कारण आफूहरु असुरक्षित रहेको भन्दै सिजीका मजदुरहरुले आन्दोलन गरेर उद्योग छाडेका थिए ।
चौधरी उद्योगका सबै मजदुरको आरडिटि परीक्षण गरिदै
चौधरी उद्योगमा त्यति बेला रहेका ६ सय मजदुर मध्ये करिब ५ सय मदजुरहरु आन्दोलन पछि घर गएका थिए । उनीहरु मध्ये २० जनाको मात्र आरडिटी परीक्षण गरिएको थियो ।
घर गएका अधिकांश मजदुरहरु घरमै क्वारेन्टाइनमा बसेको देवचुलीका उपप्रमुख पार्वता तिवारीले बताउनु भयो । घर गएका सबै मजदुरहरुको चौधरी उद्योगकै खर्चमा ३ दिनभित्र सक्ने गरी आरडिटी परीक्षण शुरु गरिने भएको देवचुली नगरपालिका उपप्रमुख तिवारीले जानकारी गराउनु भयो ।
भारतबाट आएका मजदुरहरुबाट चौधरी उद्योगका मजदुरमा कोरोना संक्रमण देखिए देवचुलीमा स्थिति भयावह हुने देखिएको छ ।
साविक दिव्यपुरी गाविस ५ दिनका लागि शिल
अहिले देवचुली नगरपालिकाको वडा नंं. १, २, ३, ४ र ५ अर्थात साविक दिव्यपुरी गाविस ५ दिनका लागि शिल गरिएको छ ।
अहिले दिव्यपुरी भित्र रहेका पसल, होटल, खाद्यान्न पसल, तरकारी पसल, किराना पसल सबै बन्द गरिएको उपप्रमुख तिवारीले बताउनु भयो । चौधरी उद्योगबाट घर गएका अधिकांश मजदुरहरु साविक दिव्यपुरी गाविसका रहेका छन् ।
यस अघि देवचुली नगरपालिका १२ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । ति पुरुष घर नआइ विरगञ्जको रक्सौल नाकाबाट नेपाल प्रवेश गरी सोझै चितवनको अस्पताल गएकोले ति पुरुषबाट नवलपुरमा कसैमा पनि संक्रमण फैलन पाएको थिएन । उनको अहिले भरतपुरमा उपचार भईरहेको छ ।