कमल चौधरी
कपिलबस्तु, २३ बैशाख । बाणगंगा नगरपालिका –८ बोर्डगाउँ सिसेनीको मुस्लिम र दलित बस्तीमा मंगलबार राहत वितरण गरिएको छ । लामो समयदेखि जारी लकडाउनको कारण दैनिक मजदुरी गर्न नपाएका विपन्न मुस्लिम तथा दलित बस्तीका ४० घर परिवारलाई राहत स्वरुप दाल, चामल, तेल प्रदान गरिएको हो ।
कोरोना भाईरस (कोविड–१९) ले देश अहिले लकडाउन अवस्थामा छ । लक डाउनको कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवारले निकै दुःख ब्यहोर्नु परेको छ । यही लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोर्नै समस्या भइरहेको अवस्थामा विभिन्न संघ संस्थाहरुको सह–कार्यमा खाद्यान्न संकलन गरेर विपन्न परिवारलाई राहत प्रदान गरेको बाणगंगा नगरपालिका– ८ का वडा अध्यक्ष गुणनिधी भुसालले बताउनुभयो । उहाँले वडाले विभिन्न गाउँ–गाउँमा गरिब, मजदुर र उत्पीडित परिवारहरुलाई राहत वितरण गर्दै आएको र विभिन्न संघ संस्थाको सहकार्यमा पनि राहत वितरण कार्यलाई अगाडी बढाएको जानकारी दिनुभयो ।
त्यस्तै राहत वितरण गर्न पुगेका समाजसेवी तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका पूर्व अध्यक्ष रविराज आचार्यले मानवीय सेवा गर्नु सवै नागरिकहरुको दायित्व रहेको बताउनुभयो । उहाँले विपद्को समयमा सवै नागरिकहरुले आ–आफ्नो ठाउँबाट गरिब, मजदुर परिवारलाई सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । अधिवक्ता समेत रहेका आचार्यले आफुले समय समयमा विपन्न परिवारहरुलाई सहयोग गर्दै आएको बताउँदै अवश्यकता अनुसार जुनसुकै समयमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
राहत लिन आएका ईश्लम बक्सले आफु राहत पाउँदा धेरै खुसी भएको प्रतिक्रिया दिनुभयो । उहांले भन्नुभयो –‘खानाको लागि समस्या भैरहेको समयमा राहतले धेरै सहयोग मिलेको छ । दुःखको समयमा गरिबलाई सहयोग गर्नेहरु प्रति हामी धेरै खुसी छौं ।’

त्यस्तै राहत वितरण कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले गरिब दुःखी परिवारलाई सधै सहयोग गर्ने र गर्दै आएको बताउनुभयो ।
त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले यस संस्थाले लकडाउन समयमा धेरै गरिब उत्पीडित परिवारलाई उद्दार गरेको बताउनुभयो । उहाँले संस्था निरन्तर सामाजिक कार्यमा लागिरहेको भन्दै दुःख पाएका र पैदल यात्रा गरेर घर जाने कामदारहरुको उद्धार गर्नुको साथै पैदल यात्रीहरुलाई खाजाको व्यवस्था समेत गरेको बताउनुभयो ।
राहत वितरण कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमकान्त घिमिरे, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका प्रतिनिधि दिवस घिमिरे, समाजसेवी चेतनारायण भण्डारी, गिरिराज पौडेल लगायतले यस्तो अवस्थामा सवै मिलेर दुखी गरिवको सेवा गर्नुपर्ने वताउनु भयो ।