रामकुमार श्रेष्ठ
नवलपरासी, ७ बैशाख । नवलपरासीमा हात हतियार सहित पक्राउ परेका ताराबहादुर विक पुर्पक्षका लागि चितवन कारागार चलान भएका छन् ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. २ चपाहाका ताराबहादुर विकलाई जिल्ला अदालत नवलपुरको आदेशमा पुर्पक्षको लागि चितवन कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
प्रहरीले उनको घरमै रहेको आरनबाट भरुवा बन्दुक १ थान, एअर गन १ थान, अमेरिकन अटो पेस्तोल (९ एमएम नं १००) लेखिएको १ थान, अमेरिकन अटो पेस्तोलको गोली ५ राउण्ड, एसएलआर राइफलको गोली २ राउण्ड, ३०३ राइफलको गोली १ राउण्ड, एम १६ राइफलको गोली १ राउण्ड, अन्य हतियारमा प्रयोग हुने गोली २ राउण्ड, पुरानो कटुवा पेस्तोलको पार्टपूर्जाहरु, भरुवा बन्दुकमा लाग्ने फलामको नाल २ थान, घोडाचाप समेतका पार्टपूर्जाहरु बरामद गरेको थियो । उनलाई प्रहरीले हातहतियार खरखजना मुद्दा दर्ता गरी आवश्यक अनुसनधान थालेको थियो ।