तिलोत्तमा, २४ चैत । दैनिक ज्यालादारीमा निर्भर रहेका र लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले आग्रह गरेको छ । दिनभर काम गरेर साँझ बिहान खाने बर्गलाई नै लकडाउनले सबैभन्दा बढी असर पुर्याएको र लकडाउनको मारमा परेका वर्गलाई राहत वितरण एकलौटी नगरी नगरभित्रका सर्वदलीय र सर्वपक्षीय समिति मार्फत लक्षित वर्गको पहिचान गरि राहत वितरणकालागि समन्वय गर्न नेपाली काँग्रेसले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे र सचिव शिवप्रसाद गैरेले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षित रहन र लकडाउनलाई ईमान्दारिताका साथ पालना गर्न नगरवासीमा अनुरोध गर्नुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गर्नु स्वभाविक रहेको भन्दै नगर समितिले छिटपुट घटना बाहेक तिलोत्तमा नगरमा लकडाउनलाई अधिकतम पालना गरेकोमा तिलोत्तमावासीमा धन्यवाद ज्ञापन गरेको छ ।
लकडाउनका कारण विभिन्न बर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय गर्नुपर्ने बिषयमा स्थानीय सरकार समक्ष कुरा कुरा भैसकेको र सार्वजनिक अपिलसाथ यसतर्फ ध्यान दिन आग्रह गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।
‘कोरोना भाईरस मानवबाट मानव शरिरमा फैलिने भएको हुँदा सरकारद्वारा घोषित लकडाउन पूर्णरुपमा पालना गर्न जरुरी छ । लकडाउनको अवस्थामा खाद्यपदार्थ तथा अन्य सामाग्री र औषधी खरिद तथा वितरण गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिको बीचमा एक मिटरको दुरी कायम गर्न समेत आवश्यक छ ।’ विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य पिपिईको प्रबन्ध समयमै गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो भन्दै विज्ञप्तिमा विश्व स्वास्थ संगठनले सचेत हौ भनेर अपिल गरेको महिना दिन पुगिसक्दा पनि स्वास्थ्यकर्मीहरुले अझै पर्याप्त पिपिई नपाउनु लज्जास्पद हो भनिएको छ । संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीलाई सहयोग गरी उनीहरुको आत्मबल बढाउन समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।


विज्ञप्तिमा लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पुर्वक ल्याएर परिक्षण केन्द्रमा पुर्याउने ब्यवस्था मिलाउन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिने तर्फ पनि सम्वन्धित निकायको ध्यान पुग्न आवशयक छ भनिएको छ । यस्तै निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले ज्वरो लगायतका अन्य विरामीहरुलाई गेटबाट फिर्ता गरेको समाचार आइरहेको समयमा निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई यस विषम परिस्थितिमा गम्भिर भएर सेवा प्रदान गर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले आग्रह गरेको छ ।
यस विषम परिस्थितिमा सम्पूर्ण तिलोत्तमावासीहरु एक जुट भई धैर्यताका साथ चुनौतिको सामना गर्न नगरसमितिले सवैमा अपिल गरेको छ ।