तिलोत्तमा, २३ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर बाहिरका मानिसको आवतजावतलाई रोक्ने निर्णय गरेको छ ।
कारोना भाइरस (कोभिड–१९) पूर्वतयारी निर्देशक समितिको आइतबार बसेको बैठकले अत्यावश्यक कामबाहेक अन्य नगरपालिका तथा गाउँपालिकबाट आउने मानिसको आवतजावतलाई रोक्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको उच्च जमखिमबाट बच्न र यसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन तिलोत्तमा नगर प्रवेश गर्ने मुख्य तथा सहायक सडक नाकामा सुरक्षाकर्मी र जनप्रतिनिधिको संयुक्त चेकजाँच टोली परिचालन गर्ने समितिको बैठकले निर्णय गरेको हो ।
सीमावर्ती भारतीय गाउँमा कोरोनो संक्रमणका बिरामी फेला परेको अवस्थालाई मध्यनजर गरी समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी गराउनु भयो ।
सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै एक प्रदेशदेखि अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावतमा कडाई गर्ने बताएको थियो ।
निर्देशक समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी गस्ती बढाउने, खाद्यबस्तु, तरकारी तथा अत्यावश्यक सामान खरिद–बिक्रीको लागि तोकिएको समयसीमा घटाएर दिउँसो १२ देखि २ बजेको समय काम गर्ने लगायतका निर्णय पनि गरेको छ । बैठकले अत्यावश्यक कामविना सडकमा हिँड्ने, चोकमा जम्मा हुने, तोकिए बाहेकको समयमा पसल खोल्नेहरुलाई कारवाही गर्ने निर्णय समेत गरेको छ । यस्तै जनप्रतिनिधिसँगको सहकार्यमा जनपद, सशस्त्र र नगर प्रहरीले गस्तीलाई प्रभावकारी बनाउने, अत्यावश्यक सामानको खरिद बिक्रीमा सामाजिक दुरी कायम नगराउने पसललाई बन्द गराउनेलगायतका निर्णय निर्देशक समितिको बैठकले गरेको छ ।
जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीका प्रतिनिधि संग्लन बैठकले नगरपालिकाका सबै कर्मचारीलाई कार्यालयको सम्पर्कमा राख्ने, स्वास्थ्य शाखामार्फत् कोरोना पूर्वतयारीको विस्तृत कार्ययोजना बनाउनेलगायतका निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना संक्रमण रोक्न नगरपालिकाले गरिरहेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।