तिलोत्तमा नगरपालिकाको राहत कोषमा १ करोड बढी संकलन
श्यामलाल पोखरेल
तिलोत्तमा, २१ चैत । शोविशन, किरण स्मृति फाउण्डेशनले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार राहत कोषका लागि २५ हजार सहयोग गरेको छ । शोविसन र किरण पाण्डेको स्मृतिमा फाउण्डेशनले कोष बढाउने उद्वेश्यले आर्थिक सहयोग गरेको हो ।
शोविशन किरणको चौथो स्मृति सभाको आयोजना गरी तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई पाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले २५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।
चौथौ स्मृति सभामा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले स्व. नावालक शोविशन र किरण पाण्डेप्रति श्रदाञ्जली अर्पण गर्दै महामारीका बिरुद्व लड्नका लागि फाउण्डेशनको आर्थिक सहयोग उचित ठाउँमा खर्च गरिने बताउनु भयो । कोरोना भाइरसको महामारीबाट बच्नका लागि सरकारका निर्देशन पालना गर्न र एकले अर्कोलाई सहयोग पुराइ लकडाउनको पूर्ण रुपले पालना गर्न उहांले सबैलाई आग्रह गर्नुभयो ।
फाउण्डेशनले शोविशन, किरणको स्मृतिमा वार्षिक रुपमा गरिव, विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आएको छ । यस वर्ष संसारभर फैलिएको कोरोना रोकथाम तथा उपचारका लागि तिलोत्तमा नगरपालिकाले स्थापना गरेको राहत कोषको लागि आर्थिक सहयोग गरिएको फाउण्डेशनका संरक्षक विष्णु पाण्डेले जानकारी गराउनुभयो ।
२०७२ चैत्र २० र २१ गते अल्पआयुमै मृत्युवरण गरेका स्व. शोविशन र किरण पाण्डेको स्मृतिमा फाउण्डेशनले वार्षिक रुपमा रक्तदान पनि गर्दै आएको छ । फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता, सचिव रुकु पाण्डेको सञ्चालन र उपाध्यक्ष अनु रजकको स्वागतमा कार्यक्रम भएको थियो । रुपन्देहीका हास्यव्यंग्य कलाकार विष्णु जी पाण्डे (माईला बा) का दुवैछोरा शोविशन र किरणको एक दिनको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो । तातो दुधमा परेर गम्भीर घाईते भएका शोविशनको २०७२ चैत २० गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो भने ज्वरो र पखालाको अवस्थामा उपचारकै क्रममा शोविशनका भाई किरणको एक दिनको फरकमा २१ गते बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको थियो । शोविशन पाण्डे दुई वर्षका थिए भने किरण पाण्डे सात महिनाका थिए । सबैको मन छुने अकल्पनीय घटना घटेपछि कलाकार र पत्रकारहरुको सक्रियतामा कलाकार धनबहादुर गुरुङ अध्यक्ष रहेको शोविशन, किरण फाउण्डेशन गठन गरिएको थियो ।
तिलोत्तमाको राहत कोषमा १ करोड बढी संकलन
तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार राहत कोषमा १ करोड बढी आर्थिक संकलन भएको छ । राहत कोषमा आर्थिक संकलन गर्ने क्रम जारी छ । विभिन्न सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, समाजसेवीहरुबाट दैनिक रुपमा कोषका लागि आर्थिक सहयोग भैरहेको छ ।
तिलोत्तमा व्यापार संघले आफु मातहत र अन्य सबै क्षेत्रका व्यवसायी र व्यक्तिलाई कोरोना रोकथाम तथा उपचार राहत कोषमा आर्थिक सहयोग पुराउन आह्वान गरेको छ । संघका अध्यक्ष जेपी कंडेलको अगुवाइमा शुक्रबार कोषमा आर्थिक जम्मा गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का ग्रिसमणी दिक्षितले कोषका लागि नगरपालिकाका मेयर बासुदेव घिमिरेलाई नगद ५१ हजार प्रदान गर्नुभएको छ । ग्रिसमणी दिक्षितले आफ्नो भवनमा व्यवसाय गर्ने साना ठूला व्यवसायीका लागि सटर भाडाबाट उठ्ने ८ लाख भाडा समेत मिनाहा गर्नुभएको छ । तिलोत्तमा वडा नम्बर पांचका शोभाखर तिमिल्सेलाने राहत कोषका लागि १० हजार १ सय ५० सहयोग गर्नुभएको छ, भने आफ्नो घरमा सटरभाडाबाट उठ्ने ६५ हजार भाडापनि मिनाहा गर्नुभएको छ । प्रेम लाम्गादेले राहात कोषका लागि नगर प्रमुखलाई ५ हजार प्रदान गर्नुभएको छ । त्यस्तै तिलोत्तमा ८ का गंगाधर रिजालले पनि कोरोना रोकथाम तथा उपचार कोषमा ५१ हजार सहयोग गर्नुभएको छ ।