श्यामलाल पोखरेल
बुटवल, २१ चैत । कोरोना भाइरस संक्रमितहरुको उपचारमा प्रयोग हुने सुरक्षण सामाग्रीको अभाव देखिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण पिपीई स्वास्थ्य सामाग्रीको देशभर अभाव छ । यो अभावलाई थोरै भएपनि परिपुर्ति गर्न बुटवल पव्लिक स्कूलले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित क्वारेनटाइनका लागि २० थान पर्सनल प्रोटेक्सन पिपिई सहयोग गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको दुर्गादत्त माध्यामिक विद्यालयमा सञ्चालित क्वारेनटाइनका लागि बुटवल पव्लिक स्कुलका अध्यक्ष हेमलाल भुसालले नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई २० थान पिपिई हस्तान्तरण गर्नुभएको हो । उपचारमा स्वास्थ्यकर्मीहरुको मनोवल बढ्ला भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षण सामाग्री उपलब्ध गराइएको स्कुलका अध्यक्ष भुसालले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको क्वारेनटाइनमा ३३ जनालाई राखिएको छ । तिलोत्तमा वडा नम्बर ३ मा सञ्चालित बुटवल पव्लिक स्कूलले अझै २० थान पिपिई तथा स्वास्थ्य सुरक्षण सामाग्री उपलब्ध गराउने बताएको छ । स्कूलले स्कूल सञ्चालन भएको ठाउंका टोलवासीलाई बिहीबार मास्क पनि वितरण गरेको छ । त्यस्तै स्कूलले बिहिबार नै तिलोत्तमा र बुटवलको सडकमा काम गरिरहेका प्रहरीहरुलाई आवश्यक्ता अनुसार मास्क र खानेपानी वितरण गरिएको अध्यक्ष हेमलाल भुसालले जानकारी गराउनु भयो ।